३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भनिन्– बाँसको कलमले लेख्नेले अब ‘स्मार्टफोन’ पुस्तामाथि शासन गरेर हुँदैन

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको नेतृत्व युवा पुस्ताले नै लिनुपर्ने बताएकी छन्।

सिंहदरबारमा आइतबार इलाम क्षेत्र नं-२ का निवर्तमान सांसद सुहाङ नेम्बाङसँगको भेटमा प्रधानमन्त्रीले प्रविधिमैत्री नयाँ पुस्तामाथि परम्परागत शैलीले शासन गर्न नसक्ने टिप्पणी गरेकी हुन्।

वर्तमान समयको माग र नेतृत्वको शैलीमा तादात्म्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन।’

उनले पुरानो पुस्ताको अनुभव र सल्लाह सधैं मार्गदर्शक रहने भए पनि मुलुक हाँक्ने ‘चालक सिट’ (ड्राइभिङ सिट) मा भने अब युवा नै आउनुपर्ने धारणा राखिन्। ‘देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ,’ उनले भनिन्।

नेम्बाङलाई आसन्न निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले युवाहरू नेतृत्वमा आए मात्र देशमा तात्विक परिवर्तन हुने विश्वास व्यक्त गरिन्।

वर्तमान सरकार शान्ति स्थापना र निर्वाचनको म्यान्डेटसहित आएको भन्दै उनले निर्वाचन तोकिएकै समयमा गराएरै छोड्ने दृढतासमेत व्यक्त गरिन्।

भेटका क्रममा नेम्बाङले सरकारको निर्वाचन गराउने लक्ष्यमा पूर्ण साथ रहने भन्दै प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए।

साथै, उनले बाढीपहिरोका कारण इलामका भत्किएका संरचना पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ६ पुस २०८२ २०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App