२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भन्छन्: ‘जेन जी’ पुस्ता सक्षम छ, तर दुरुपयोग हुन सक्छ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेन जी’ पुस्ता देशको स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्न सक्षम रहेको बताउँदै उनीहरूलाई दुरुपयोग गर्न सक्ने तत्वप्रति सचेत रहन आग्रह गरेका छन्।

सरकारले फेसबुक लगायतका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि ‘जेन जी’ पुस्ताले सोमबार सडक प्रदर्शनको घोषणा गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यो भनाइ आएको हो।

ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा सम्बोधन गर्दै उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभई नियमनका लागि दर्ता मात्र गराउन खोजेको दाबी गरे।

‘हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्तामात्र गराउन भनेका हौं। एक वर्षदेखि तारनतार ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको पुस्ता देशको स्वाभिमान, कानुन, राष्ट्रियता बुझ्न सक्षम छ। जेन जी पुस्तालाई दुरुपयोग गर्न सक्छन्, त्यसप्रति सचेत हुनुपर्छ।’

सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलेको र सरकारको निर्णयको विरोधमा युवाहरू सडकमा उत्रिने तयारी गरिरहँदा प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले विधि र कानुनको उल्लंघन गर्न नहुनेमा जोड दिए।

‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु,’ उनले भने।

आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षमा नरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकारको कदमको बचाउ गरे। सरकारले एक साताको समयसीमा दिँदा पनि दर्ता प्रक्रियामा नआएपछि फेसबुकसहित २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसको हाल चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित: २२ भाद्र २०८२ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App