२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुरक्षित रहन प्रधानमन्त्री कार्कीको आग्रह

<br>

प्रधानमन्त्री सुशीला कार्कीले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याउन सक्ने बाढी, पहिरो तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण नागरिकलाई सतर्क र सुरक्षित रहन विशेष आग्रह गरेकी छन्।

जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म वर्षा निरन्तर रहने र प्रमुख नदी–नालाहरूमा पानीको सतह खतराको तह नाघ्न सक्ने चेतावनी जारी गरेपछि प्रधानमन्त्रीले शनिबार देशवासीका नाममा सम्बोधन गर्दै यस्तो अपिल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले सम्भावित विपदबाट हुने जोखिमको पूर्व–आकलन गर्दै सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताइन्। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी लगायतका सबै सरकारी निकायहरू विपद् व्यवस्थापन, उद्धार, राहत र आपत्कालीन सेवाका लागि चौबीसै घण्टा तयारी अवस्थामा छन्।

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई ज्यान र सम्पत्तिको सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्दै प्रधानमन्त्रीले आधिकारिक स्रोतबाट जारी हुने सूचना र चेतावनीलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्। उनले सरकार नियमित रूपमा अद्यावधिक सूचना प्रसारण गर्दै नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाइन्।

सम्भावित विपद्को जोखिम मूल्याङ्कन गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित: १८ आश्विन २०८२ १९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App