राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री कार्की केही बेरअघि पुगेकी हुन्।
आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले चियापानसहित विविध कार्यक्रम आयोजना गरेको हो।
चियापान सुरु हुनुअघि पार्टीका नेता तथा कार्यकर्ताहरूले भृकुटीमण्डपस्थित सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।
सो क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता–कार्यकर्ताले रक्तदान समेत गरेका छन्।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ।
राप्रपाले हरेक वर्ष पृथ्वीजयन्तीको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रकाशित: २७ पुस २०८२ १५:१४ आइतबार




