प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा भ्युअर बढाउने र मोनिटाइजेसन मार्फत आम्दानी गर्ने उद्देश्यले पत्रकारिताको मर्यादा विपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई चेतावनी दिएको छ।
पछिल्लो समय पत्रकारिताको नाममा बढ्दै गएको अमर्यादित र गैरजिम्मेवार प्रवृत्तिप्रति काउन्सिलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै बिनाअनुमति र परिचयपत्र विना नै विभिन्न कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार प्रदर्शन गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको छ।
सञ्चारकर्मीका नाममा हुने दुर्व्यवहारजन्य गतिविधि, विवाद तथा हातपातका भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने र अश्लील सामग्रीलाई स्थान दिने प्रवृत्तिले पत्रकारिताको गरिमामा आँच पुर्याएको काउन्सिलको निष्कर्ष छ।
सहप्रशासकीय अधिकृत (सहप्रवक्ता) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युट्युब च्यानल, फेसबुक पेज र रिलबाट भ्युअर बढाउने र मोनिटाइजेसन केन्द्रित भई तथ्यहीन, आपसी झैझगडा र गालीगलौजपूर्ण सामग्री बिनासम्पादन सम्प्रेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता कार्यले पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र स्थापित मर्यादामा गम्भीर नकारात्मक प्रभाव पारेका छन्।’
काउन्सिलले कतिपय अनलाइन न्युज पोर्टलमा दर्ता भए पनि समाचार सम्प्रेषण नगरी केवल युट्युब र फेसबुकमा भ्रामक सामग्री राखेर समाजमा नकारात्मक सन्देश फैलाएको भन्दै आपत्ति जनाएको छ।
पत्रकारिता पेसाको संवेदनशीलतालाई मनन गर्दै यस्ता क्रियाकलापबाट अलग रहन र आचारसंहिताको परिधिभित्र रही सत्य, तथ्य र निष्पक्ष सामग्री मात्र सम्प्रेषण गर्न सञ्चार माध्यम र आम सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।
आचारसंहिता बमोजिम पेसागत आचरण र व्यवहारमा रही जिम्मेवार पत्रकारिताको अभ्यासले मात्र सञ्चार क्षेत्रको मर्यादा अभिवृद्धि हुने काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलले सञ्चार माध्यमहरूको नियमित अनुगमन गरिरहेको र आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत चेतावनी दिएको छ।
प्रकाशित: ८ असार २०८३ २०:०६ सोमबार



-600x400.jpg)

