नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउने ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै वामपन्थी शक्तिहरुबीच तत्काल सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन्।
आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशी दबाब, फासीवाद र हस्तक्षेपविरुद्ध लड्न कम्युनिस्टहरु एक ढिक्का हुनुको विकल्प नभएको बताएका हुन्।
उनले राष्ट्रिय स्वाधीनता निकै ठूलो संकटमा परेको भन्दै कम्युनिस्ट शक्तिहरुबीचको सहकार्यमा विलम्ब गर्न नहुने सुनाए।
संयोजक दाहालले दक्षिण एसिया र छिमेकी राष्ट्रमा कम्युनिस्टहरुलाई सिध्याइएको घोषणा भइरहेको सन्दर्भ कोट्याउँदै नेपालमा पनि त्यस्तै प्रतिक्रियावादी षड्यन्त्र भइरहेको चेतावनी दिए।
‘नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबर्जस्त प्रभावलाई के गरी सिध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरु लागिराखेका छन्,’ उनले भने, ‘त्यही षड्यन्त्रको परिणतिका रुपमा विभिन्न घटनाक्रमहरु भइरहेका छन्, जसलाई हामीले देखिरहेकै छौं।’
देशभक्त र वामपन्थीहरु छिटोभन्दा छिटो एक हुनुपर्नेमा जोड दिँदै उनले ढिलाइ गर्दा गम्भीर दुर्घटना हुन सक्ने औंल्याए। ‘सहकार्य आजै सकिन्छ भने आजै गरौं, भोलि सकिन्छ भने भोलि नै गरौं,’ दाहालले भने, ‘सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय राख्नु दुर्भाग्यपूर्ण हुन्छ। ढिला गर्दा दुर्घटना त्यति नै भयानक हुनेवाला छ।’
विगतमा कम्युनिस्टहरु मिल्दा जनताले झण्डै दुई तिहाइ मत दिएर अनुमोदन गरेको स्मरण गर्दै उनले उक्त एकता किन टिक्न सकेन भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने स्वीकार गरे।
यद्यपि, समीक्षाको नाममा अल्झिएर बस्ने र हतारमा एकता गर्ने अनि फुर्सदमा विभाजन भएर रुने प्रवृत्ति दोहोरिन नहुने उनको भनाइ छ। विगतमा पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रविरुद्ध मिलेर लडेका शक्तिहरु अहिलेको उपलब्धि जोगाउन पनि एउटै मोर्चामा उभिनुपर्ने उनले बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मान्यता र संविधानमाथि अहिले प्रहार भइरहेको भन्दै संयोजक दाहालले संविधान निर्माणमा सहभागी सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता समेत औंल्याए।
जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा उनले भण्डारीलाई एउटा गतिशील र सिर्जनशील नेताका रुपमा स्मरण गरे। मार्क्सवादलाई धर्मशास्त्र जस्तो नभई परिस्थितिको ठोस विश्लेषण गर्ने विज्ञानका रुपमा बुझ्नुपर्ने भन्दै उनले भने, ‘अत्यन्त गतिशील र सिर्जनशील नेता हुनुको नाताले अहिले उहाँ जीवित हुनुभएको भए समाजवादको नयाँ चरणअनुसार आफ्ना नीति तथा कार्यक्रमलाई परिमार्जन गर्नुहुन्थ्यो।’
नेपालको कम्युनिस्ट आन्दोलनमा जडता र यान्त्रिकता हावी हुने गरेकोतर्फ इङ्गित गर्दै दाहालले परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न सक्ने क्षमता विकास गर्न कम्युनिस्ट नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन्।
प्रकाशित: १४ असार २०८३ १६:१६ आइतबार





