३१ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘वाटर स्पोर्टस्’ बाट माल्दिभ्सले कमायो ४४७ मिलियन अमेरिकी डलर

मालदिभ्सको पर्यटन क्षेत्रमा जलक्रिडा (वाटर स्पोर्टस्) व्यावसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ।

पछिल्लो प्रतिवेदन अवधिमा यस क्षेत्रको राजस्व ४७ दशमलव सात प्रतिशतले बढेको मालदिभ्सको सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’ले जनाएको छ।

मालदिभ्सको आन्तरिक राजस्व प्राधिकरणको तथ्याङ्क उद्धृत गर्दै पीएसएम न्युजले डिसेम्बर २०२५ देखि फेब्रुअरी २०२६ सम्मको अवधिमा समग्र पर्यटन क्षेत्रले ४४७ मिलियन अमेरिकी डलर बराबरको ‘आउटपुट कर’ सङ्कलन गरेको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३७१ मिलियन डलरको तुलनामा २० दशमलव पाँच प्रतिशतले बढी हो।

प्रतिवेदनअनुसार जलक्रिडा व्यावसायको राजस्व अघिल्लो वर्षको २१ दशमलव ६८ मिलियन डलरबाट बढेर ३२ दशमलव ०३ मिलियन डलर पुगेको छ, जसले यो क्षेत्रलाई पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा बढिरहेको उपक्षेत्र बनाएको छ।

यसैगरी, वाटर स्पोट्र्स सेन्टरको राजस्व ४९ दशमलव २० प्रतिशतले वृद्धि भई आठ दशमलव दुई मिलियन डलरबाट १२ दशमलव ३७ मिलियन डलर पुगेको छ।

होमस्टे तथा गेस्टहाउसले पनि ६० दशमलव आठ प्रतिशतको वृद्धि दर्ता गरेका छन्, यद्यपि समग्र पर्यटन बजारमा तिनको योगदान तुलनात्मक रूपमा सानो रहेको प्रतिवेदनमा उल्लेख छ।

पर्यटन राजस्वको सबैभन्दा ठूलो हिस्सा ओगट्ने रिसोर्टको आयमा भने २१ प्रतिशतले वृद्धि भएको छ।

पीएसएम न्युजका अनुसार उक्त अवधिमा मालदिभ्समा आउने पर्यटकको कुल सङ्ख्यामा ११ दशमलव छ प्रतिशतले वृद्धि भएको छ, जसले पर्यटन क्षेत्रको समग्र वृद्धिमा योगदान पुर्याएको छ।

प्रकाशित: २१ असार २०८३ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App