आन्तरिक विवादलाई दबाउँदै/नजरअन्दाज गर्दै नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अघि बढेका छन्। पार्टी एकताका विषयमा आफ्नै पार्टीभित्रका असन्तुष्टि, फरक मत र विवादलाई दुवै नेताले आठ वाम घटकसहित पार्टी एकता गर्ने निर्णयमा पुगेका छन्।
दुवै नेताको मत मिलेपछि आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबिच पार्टी एकताका लागि सहमति पत्रमा हस्ताक्षर नै भएको छ।

सहमति पत्रमा ‘पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न वृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो,’ भनिएको छ। त्यही आवश्यकतालाई ध्यानमा राखेर सात वटै दल एकतामा जान लागेको उल्लेख छ।
सहमति पत्रमा पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने भनिएको छ। यस्तै कम्युनिस्ट पार्टीहरू भन्ने गरेको ‘क्रान्तिको कार्यक्रम’मा ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ उल्लेख गरिएको छ।
पार्टीको ‘तात्कालिक कार्यनीति’मा ‘पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने’ सहमति पत्रमा उल्लेख छ।
‘आन्दोलनको स्वरूप’ चाहिँ आन्दोलन मूलतः शान्तिपूर्ण हुने भन्दै परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चा रहने सहमति पत्रमा उल्लेख छ।
कात्तिक १९ मा राष्ट्रिय सम्मेलन र एकता घोषणा
एकीकृत दलले यही कात्तिक १९ गते(बुधवार) पार्टीको ‘एकता राष्ट्रिय सम्मेलन’ हुने सहमति पत्रमा उल्लेख छ। त्यो सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिहरूको ‘संयुक्त भेला’कै रूप हुने भनिएको छ।
‘एकता राष्ट्रिय सम्मेलनबाटै पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित गर्ने र केन्द्रीय समितिको गठन लगायतका कार्य गरिनेछन्,’ सहमति पत्रमा भनिएको छ।
महाधिवेशन: माधव–प्रचण्डलाई हाई सुख
पार्टी एकताको सहमति गरेसँगै पार्टीभित्र चुलिँदै गएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विवाद सामसुम पार्ने गरी सहमति जुटाइएको छ। यसअघि माओवादी केन्द्रले पार्टीका सबै कमिटी भंग गरे मंसिरमा महाधिवेशन गर्ने भन्दै महाधिवेशन आयोजक कमिटी बनाएको थियो।
अब दल एकीकरण सहमतिमा ‘एकता राष्ट्रिय महाधिवेशन’ भनेर आगामी ६ महिनाभित्र गरिने उल्लेख छ। तर, हाललाई केन्द्रीय समितिको गठन गर्दा सात पटै पार्टीका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा गठन गरिने भनिएको छ।
केन्द्रीय समिति र मातहतको संरचना
सहमति पत्रअनुसार केन्द्रीय समितिभित्र संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समितिको व्यवस्था राखिएको छ। यस्तै केन्द्रीय समितिमा संयोजक, सहसंयोजक पद हुने भनिएको छ।
यस्तै प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सह संयोजकको व्यवस्था हुने भनिएको छ। सबै सङ्गठनात्मक संरचनाको गठन आपसी सहमति र समझदारीमा गरिने पनि सहमति पत्रमा भनिएको छ।
यस्तै सबै तहका पार्टी समिति र जनसङ्गठनमा इन्चार्ज तथा सह इन्चार्ज र संयोजक तथा सहसंयोजक सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाटै रहने व्यवस्था गरिने सहमति पत्रमा उल्लेख छ।
पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने पनि भनिएको छ।
यो पनि पढ्नुहोस्
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलबीच कार्तिक १९ गते एकता हुने
यस्तै पार्टी एकता घोषणापछि मात्रै राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्ताबेज निर्माण गर्न कार्यदल गठन गरिने र पार्टीका समिति, जनसंगठनको एकता र समायोजन गर्न पनि विभिन्न तहका कार्यदल गठन गरिने भनिएको छ।
पार्टीको नाम भने अझैँ टुंग्याइएको छैन। चुनाव चिन्ह भने पाँच कुने तारा तय गरिएको सहमति पत्रमा उल्लेख छ।
यस्तै पार्टीभित्रका वैचारिक राजनीतिक विषयमा एक आपसमा रहन सक्ने मतभिन्नतामा निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पु¥याइने भनिएको छ।
आन्तरिक असन्तुष्टिको बेवास्ता
पार्टी एकताका सन्दर्भमा मूलतः एकीकृत समाजवादी र माओवादी केन्द्रका ठुलै असन्तुष्टि र विवाद छ। एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरूबिच कित्ताकाट नै भइसकेको छ।
अध्यक्ष नेपालले केन्द्रीय सदस्य थप गरेरै बहुमत जुटाएर पार्टी एकताको निर्णय गराएका थिए। जसविरुद्ध खनाल, भुसाल लगायतका नेताले आफू एकतामा नजाने र छुट्टै अभियान चलाउने घोषणा गरेका छन्।
त्यसभन्दा बाहेक रामकुमारी झाँक्री, किसान श्रेष्ठ, वंशीधर मिश्र लगायतका नेता फेरि अलग्गै समूह बनाएर नेकपा एमालेमा जाने गरी संवाद गरिरहेका छन्।
उता माओवादी केन्द्रमा पनि नेता जनार्दन शर्मालगायतका नेता पार्टी एकताको विपक्षमा सुनिँदै आएका छन्। शर्माले शनिवारको सचिवालय बैठकमा आफू प्रस्ट माओवाद समाप्त गर्ने गरी हुने एकतामा सहभागी नहुने भन्दै बाहिरिएका थिए। पार्टी एकतामा जाँदा उनी फेरि माओवादी पुनर्गठन गरेर जाने तयारीमा रहेको स्रोतको भनाई छ।

प्रकाशित: १६ कार्तिक २०८२ २०:०४ आइतबार





-1200x560-600x400.jpg)