२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‌मा खुम्चिए पाका पुस्ता: प्रत्यक्षतर्फ ७० पार सांसद ४ मात्र

नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले संसद्‌मा पाको पुस्ताको उपस्थिति खुम्चिइदिएको छ।

फागुन २१ गते भएको निर्वाचनको अन्तिम मत परिणामअनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये ७० वर्ष नाघेका ४ जना सांसद मात्र निर्वाचित भएका छन्।

रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित पुष्पकमल दाहाल र अछाम क्षेत्र नम्बर-१ बाट निर्वाचित नेपाली कांग्रेसका भरतकुमार स्वार ७० वर्षका हुन्। यसैगरी, मनाङ क्षेत्र नम्बर-१ बाट निर्वाचित कांग्रेसकै टेकबहादुर गुरुङ र म्याग्दी क्षेत्र नम्बर-१ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार महावीर पुन ७१ वर्षका भए।

जेन-जी आन्दोलन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित लहरका कारण यसपटक पुराना दल र पुराना दलका पाका नेताहरूको वर्चस्व निमिट्यान्न जस्तै भएको छ।

युवा विद्रोहको जगमा भएको यस चुनावले नयाँ प्रतिनिधि सभामा ५० वर्ष ननाघेका सांसदहरूको बाहुल्य कायम गरेको छ। प्रत्यक्षतर्फको अन्तिम नतिजा हेर्दा ५० वर्षसम्मका ११८ जना सांसद निर्वाचित भएका छन्।

यीमध्ये ३० वर्षमुनिका १२ जना छन् भने ६० वर्ष नाघेका सांसदको संख्या जम्मा ११ जना मात्र रहेको छ। प्रत्यक्षमा एक्लै १२५ सिट जितेको रास्वपामा युवा सांसदहरूकै बलियो उपस्थिति देखिएको छ।

प्रत्यक्षतर्फको नतिजा आइसके पनि समानुपातिकतर्फका ११० सिटका लागि मतगणना जारी छ। हालसम्म १ करोड ७ लाख मत गणना हुँदा ५० लाख मत कटाएको रास्वपाको बन्द सूचीमा समेत अधिकांश युवा नै रोजाइमा परेका छन्।

समानुपातिकतर्फको अन्तिम नतिजा आउँदा कुन दलबाट कुन उमेर समूहका सांसद आउँछन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी भए पनि समग्रमा अबको संसद् युवामय हुने निश्चित देखिएको छ।

सात दशक पार गरेका धेरै सांसद् नेपाली राजनीतिका ‘पुराना खेलाडी’ हुन्। उनीहरूले पञ्चायत, बहुदल, जनआन्दोलन, संविधान निर्माण र सङ्घीयताको संक्रमणकालजस्ता अनेक राजनीतिक चरण प्रत्यक्ष अनुभव गरेका छन्।

उनीहरुले संसदीय अभ्यास, दलगत रणनीति र राज्य सञ्चालनबारे गहिरो अनुभव लिएका छन्। कतिपय राजनीतिक दलहरूका लागि यस्तो अनुभव अझै पनि महत्त्वपूर्ण पूँजी मानिन्छ। जेन-जी आन्दोलनपछिको पुस्ता परिवर्तनको सवालले अनुभवलाई भन्दा नयाँलाई प्राथमिकता दिएको देखिन्छ।

त्यसैले नेपाली राजनीतिमा अहिलेको बहस केवल उमेरको होइन, अनुभव र नयाँ सोचबिचको सहकार्य कसरी सम्भव हुन्छ भन्ने प्रश्नको हो। एकातिर संसद्‌मा अनुभवको खाँचो देखिन्छ भने अर्कातिर बदलिँदो पुस्ताको दबाबले नयाँ युवालाई सदनसम्म पुर्‍याएको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ १९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App