पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारी भएको बताएकी छन्। आइतबार एक कार्यक्रममा बोल्दै भण्डारीले सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट राजनीतिमा रहेको जिम्मेवारीबोध नयाँ पुस्ताले बुझ्न सक्ने बताइन्।
उनले राजनीतिक इतिहासलाई घटनाहरूको सूचीका रूपमा मात्र नभई मानिसका अनुभव, संघर्ष र निर्णयसँग जोडेर बुझ्नुपर्ने बताइन्। सम्बन्धित पुस्तकले एक व्यक्तिको राजनीतिक जीवनसँगै एउटा पुस्ताको राजनीतिक अनुभव तथा सामाजिक र राजनीतिक यात्राका महत्वपूर्ण पक्षलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो।
‘राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो भन्ने कुरा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र यात्राबाट बुझ्न सकिन्छ, ’उनले भनिन्।
उनले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको आवश्यकता रहेको बताउँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प नभएको र दुवैबीचको उचित संयोजनबाट राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिने बताइन्।
‘पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प होइनन्। अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिन्छ,’ भण्डारीले भनिन्।
प्रकाशित: १८ आश्विन २०८३ १७:५१ आइतबार





