पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक व्यक्तित्वहरूका विचार, अनुभव र सङ्घर्षलाई दस्तावेजीकरण गर्नु भावी पुस्ताका निम्ति मार्गदर्शक हुने बताएकी छन्।
उनले ‘आनन्दप्रसाद पोखरेल: विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका आरोह-अवरोह र विविध आयामलाई यथार्थपरक रूपमा समेटेको टिप्पणी गरेकी छन्।
नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा राजधानीमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकले नेता पोखरेलको समग्र राजनीतिक यात्रा, वैचारिक निष्ठा र नेतृत्वदायी भूमिकालाई नजिकबाट बुझ्न सघाउ पुर्याउने विश्वास व्यक्त गरिन्।
लामो समय राजनीतिक तथा सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्वको अनुभव लिपिबद्ध हुनु ऐतिहासिक आवश्यकता भएको औंल्याउँदै उनले भनिन्, ‘राजनीतिक जीवनका भोगाइ र नेतृत्वका अनुभवलाई अभिलेखीकरण गरेर मात्रै अग्रजका विचारलाई नयाँ पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिन्छ।’
सो अवसरमा लेखक आनन्दप्रसाद पोखरेलले आफ्नो राजनीतिक जीवनका क्रममा भोगेका दुःख, कष्ट, सङ्घर्ष र प्रत्यक्ष अनुभवका आधारमा पुस्तक तयार पारिएको जानकारी दिए।
लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो सहभागिता रहेको थियो।
प्रकाशित: १८ आश्विन २०८३ १९:५९ आइतबार





