२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीको प्रस्तावप्रति पोखरेलको आपत्ति : फेरि ओलीकै सहजताका लागि विधान संशोधन गृहकार्य

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका निम्ति अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई रोक्न खोजिएको छ। अध्यक्ष केपी शर्मा ओलीले मुलुक संकटमा परेको र पार्टी पनि संकटमा परेका बेला मिलेर जानुपर्ने प्रस्ताव गर्दै पोखरेललाई रोक्न खोजेका हुन्।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष हुन खोजिरहेका छन् तर पोखरेलले आफू अघि बढेको बताउँदै ओलीलाई अभिभावकको भूमिकामा रहन आग्रह गरेका छन्। ‘तपाईं आराम गर्नुस्, सुझाव दिनुस्, पार्टीको नेतृत्व सहज रूपमा हस्तान्तरण गर्नुस्, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो भयो,’ पोखरेलले भनेका छन् तर ओलीले अहिले पार्टीलाई आफ्नो आवश्यकता रहेको बताउँदै पोखरेललाई सहयोग गर्न आग्रह गरेका छन्। तर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्।

गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनले ओलीका लागि तेसोपटक अध्यक्ष बन्ने बाटो खुला गरेको थियो। महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका पोखरेल लगायतले बिहीबार भक्तपुरको गुन्डु पुगेर ओलीसँग भेट गरी प्रतिनिधि छनोटलगायत विषयमा असहमति प्रकट गरे। ओलीलाई भेट्न पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गएका थिए। भेटमा महाधिवेशन प्रतिनिधि चयनमा देखिएको समस्याबारे छलफल भएको भट्टराईले बताए। ‘महाधिवेशन आएको छ। अध्यक्षसँग भेटघाट गरिरहनुपर्ने विषयहरू हुन्छन्। अहिले प्रतिनिधि छनोट प्रक्रियामा समस्या आयो। केही ठाउँमा विवाद भयो। कतिपय ठाउँमा अप्ठेरो पर्‍यो,’ उनले भने, ‘यस्तो समस्या नहोस् भन्ने हाम्रो चाहना हो। अध्यक्षलाई भेटेर यही विषयमा कुराकानी गरेका हौं।’

एमालेले गत शनिबार देशभर एकसाथ प्रतिनिधि चयन गरेको थियो। दाङ, भोजपुर, ओखलढुंगालगायत ठाउँमा विवाद देखिएको छ। भेटमा ओखलढुंगासहित केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकोमा पोखरेलसहितका नेताले आपत्ति जनाएको स्रोतले बतायो । ‘शंकर पोखरेलनिकटहरूले दाङमा एकलौटी गरेका छन्। सल्यानमा होटलमा बसेर प्रतिनिधि चयन गरिएको छ। यसमा पनि हाम्रो आपत्ति हो,’ स्रोतले भन्यो।

ओलीले विधान महाधिवेशनबाट पास गरेको विधानमा समेत संशोधनको तयारी गरेका छन्। पोखरेल पक्षले प्रतिस्पर्धाको अडान नछाडेपछि ओलीले आफ्नो समूहका नेताहरूलाई समेट्न विधान संशोधन गरेर पुरानै अवस्थामा फर्काउन लागेको बताइएको छ। विधान महाधिवेशनबाट केन्द्रीय कमिटी दुई सय ५१ सदस्यीय बनाइएको थियो। त्यतिबेला उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ पदाधिकारी हुने व्यवस्था राखिएको थियो। त्यही प्रस्ताव पारित भएपछि पदाधिकारीको संख्या पनि घटेको छ। वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको संख्यालाई घटाएर तीनमा झारिएको छ।

पारित विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सातसहित १५ जना पदाधिकारी रहने छन्। पदाधिकारीमा महिला एक जना अनिवार्य गरिएको छ। विधानबाट स्थायी कमिटीको संरचना हटाइएको छ।

 पोलिटब्युरो सदस्यको संख्या पनि घटाइएको छ। सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि हटाइएको छ। अहिले ओलीलाई आफ्नै समूहका नेताहरूलाई व्यवस्थापन गर्न असहज भएपछि विधान संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गृहकार्य थालिएको हो।

कतै विवाद कतै सर्वसम्मत

महाधिवेशनका लागि प्रतिनिधिहरू छानिएका छन्। महाधिवेशनका लागि कतै सहमतिमा प्रतिनिधि छानिएका छन् भने कतै सहमति हुन सकेका छैनन्। संस्थापन पक्षले आफूलाई अनुकूल नलागे त्यस्ता स्थानमा पुनः प्रतिनिधि छान्न निर्देशन दिएको छ। एमालेले यसपटक प्रतिनिधिका लागि धेरै स्थानमा निर्वाचनको अभ्यास गरेको थियो। मतदान हुँदा केन्द्रीय सदस्य हुन्छु भन्ने नेताहरू नै पराजित भएका छन्। प्रतिनिधि छनोट प्रक्रियामा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा नै पराजित भए। उनी काठमाडौं–४ बाट खुलातर्फबाट उम्मेदवार थिए। खुलाबाट दुई जना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भए। उनले दुई सय एक मत पाए।

खुलामा श्रीकृष्ण श्रेष्ठ दुई सय ४१ र उद्धव खरेल दुई सय १२ मत ल्याएर निर्वाचित भए। खरेल बुढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर हुन्। पराजित थापा पार्टी अध्यक्ष ओली पक्षीय मानिन्छन्। काठमाडौं–४ एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको क्षेत्र भए पनि त्यो पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत निर्वाचन क्षेत्र हो। त्यहाँ संस्थापनइतरको बाहुल्य छ। विगतमा पूर्वराष्ट्रपतिका स्वकीय सचिव रहेका बद्री भट्टराई पनि त्यहाँ पराजित भएका थिए। काठमाडौं–४ मा उनी खुलाबाट उम्मेदवार बनेका थिए। भण्डारी अध्यक्ष बन्ने परिस्थिति नभएको भन्दै कित्ता परिवर्तन गरेपछि उनी पराजित भएका छन्। ओलीलाई समर्थन गर्ने आधिकारिक उम्मेदवार राजन पोखरेल पनि प्रतिनिधि बन्न सकेनन्।

कोसी प्रदेशसभाका दुई सदस्य पनि पराजित भएका छन्। सुनसरी–१ मा कोसी प्रदेशसभाका सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राई प्रतिनिधि बन्न नसकेका हुन्। त्यहाँबाट खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निर्वाचित भए। निर्वाचित सुवेदीले सात सय ९६, राईले सात सय ७६ र चौधरीले ६ सय ७४ मत पाए। पराजित बस्नेतले तीन सय ७६ र राईले तीन सय ९१ मत प्राप्त गरेका छन्। उनीहरू दुवै सुनसरी–१ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित सदस्य हुन्। बस्नेतले सुनसरी–१ ‘क’ र राईले ‘ख’बाट प्रतिनिधित्व गर्छन्।

यस्तै कोसीका मुख्यमन्त्री तथा एमाले नेता हिक्मतकुमार कार्कीका सल्लाहकार र स्वकीय पराजित भएका छन्। मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी–१ बाट र स्वकीय सचिव कमल पौडेल झापा–५ बाट पराजित भए।

यसैगरी रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल पनि पराजित भएकी छन्। मल्लको पक्षमा एक सय ११ मत मात्रै खसेको थियो । महिलाका तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी भए। कौशिलाले दुई सय चार र हिमकुमारीले दुई सय तीन मत पाए। त्यस्तै मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नै पराजित भए। उनी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का तर्फबाट खुला सदस्यमा उम्मेदवार बनेका थिए। उनले तीन सय ३४ मत प्राप्त गरे।

यसै समूहतर्फ पूर्वराष्ट्रियसभा सदस्य रामचन्द्र राई पनि प्रतिनिधि छनोट हुनबाट चुके। पराजित मकवानपुर अध्यक्ष राई पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिन्छन्। त्यस्तै अर्घाखाँचीको शीतगंगा नगरपालिकाका उपप्रमुखसमेत रहेकी गीता भाट क्षेत्री पराजित भइन्। महिलातर्फ दीपा आचार्य, सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम प्रतिनिधि चुनिएका छन्। यस महाधिवेशनमा सात प्रदेश, जिल्ला, केन्द्रीय विभाग, जनसंगठन, प्रवास, विशेष जिल्ला, सम्पर्क समन्वय कमिटी, मजदुर फाँट, केन्द्रीय कार्यालयलगायत अधिकांश क्षेत्रबाट प्रतिनिधि छनोट भएका छन्।

एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा आठ जिल्लामा समस्या देखिएको छ। निर्वाचन समितिका अनुसारका ओखलढुंगा, धनकुटा, तनहुँ, दाङ, बाँके, बझाङ, रौतहट र बारामा समस्या देखिएको हो। प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरीसमेत गरिएको थियो। त्यहाँ ओली पक्षका प्रतिनिधिहरू कम आएका छन्। एमाले महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुंगिएको छ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलका अनुसार ओखलढुंगा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको हो। उनले ती दुई जिल्लामा पनि चार दिनभित्र प्रतिनिधि निर्वाचन गरेर टुंग्याउन निर्देशन दिए तर स्थानीय नेता केन्द्रको निर्णय नमान्ने अवस्थामा पुगेका छन्।

महाधिवेशनका लागि करिब दुई हजार दुई सय प्रतिनिधि छनोट भएका छन्। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट भएका छन्।

यसैगरी केन्द्रीय कमिटीबाट तीन सय ५४ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि गरी जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुने एमालेले जनाएको छ।  

प्रकाशित: १९ मंसिर २०८२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App