प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।
सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा कार्कीलाई बधाइ र सफलताको शुभकामना दिएका थिए ।
भेटमा प्रधानमन्त्री कार्कीले नेपाल-इजरायलबीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा राखेकी थिइन् ।
राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए । साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरु पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै उनले यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने बताए।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको उल्लेख गरिन्। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो।
भेटमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो।
प्रकाशित: २८ पुस २०८२ १७:०९ सोमबार





