जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ निवासी २२ वर्षीय सुजय राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।
स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार तथा लागूऔषध लुकाइ–छिपाइ राखिएको भन्ने सूचनापछि गरिएको खोजतलासका क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९ एमएम पेस्तोल एक थान र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सौगात फरार छन्। लुटपाट घटनामा संलग्न राजवंशीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०८२ १४:५७ सोमबार





