२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

चित्रगुप्तले बयान हैन, सजाय नै तोक्छन् होला !

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनाका क्रममा चित्रगुप्तको प्रसंग उठाएपछि यसबारे टीकाटिप्पणी चलेको छ। दाहालले ओलीको आलोचनाको क्रममा चित्रगुप्तलाई के जवाफ दिने बताएपछि सर्वसाधारणले पनि दाहालले चाहिँ के जवाफ दिने भन्ने प्रसंग उठाएका छन्।  

‘ओलीले के जवाफ देलान्, उनले सोचेको होलान्,’ सामाजिक सञ्जालमा रत्न पोखरेल लेख्छन्, ‘हजारौँ सर्वसाधारणको सहदातले आएको गणतन्त्रमा तपाईँहरूले निभाएको भूमिकाको बारेमा चाहिँ के जवाफ दिनुहुन्छ नि? विकास निर्माणमा लाग्नु पर्ने समयमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै चित्रगुप्तलाई हरेकले एक-एक जवाफ दिनुपर्ने बेला आएको उनले लेखेका छन्।

हिन्दु धर्म अनुसार मृत्युका देवता यमराजका सहायक वा सचिव मानिन्छन्। उनी जीवहरूको कर्मको लेखाजोखा राख्ने देवता र यमराजका दाहिने हातका रूपमा वर्णन गरिएको छ। मान्यता अनुसार प्रत्येक मानिसले जीवनभरि जे–जे कर्म गर्छन्, तिनको लेखाजोखा चित्रगुप्त राख्छन्। मृत्युपछिको निर्णय (स्वर्ग वा नर्क जाने) यिनकै लेखाजोखा हेरेर यमराजले दिन्छन् भन्ने मान्यता छ।

आलोचनाका क्रममा दाहालले विगतमा ओलीले चित्रगुप्तको प्रसंग उठाएको सुनाएका थिए। ‘म उहाँ (प्रधानमन्त्री ओली) ले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्छु, उहाँले चित्रगुप्तलाई बयान दिन तयार छु भन्नुभएको थियो,’ दाहालले भनेका छन्, ‘चित्रगुप्तलाई बयान दिने यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार, अब चित्रगुप्तालाई प्रधानमन्त्रीजीले के बयान दिने होला?

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै दाहालले ‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ को स्थिति रहेको बताए। भ्रष्टाचारका सन्दर्भमा चित्रगुप्तलाई समेत बयान दिने ठाउँ नभएको बताउँदै दाहालले प्रधानमन्त्री ओलीको खोइरो खन्नमै धेरै समय खर्चेका हुन्।

‘भ्रष्टाचारको सवालमा मात्र हैन, देश विकास र जनतामा छाएको नैराश्य र पलायनको विषयमा पनि तपाईँहरूले जवाफ दिने ठाउँ छैन,’ दुवै नेतालक्षित टिप्पणी गर्दै सामाजिक सञ्जालमा मिलन आचार्य लेख्छन्, ‘चित्रगुप्त साँच्चै भगवान् हुन् भने बयान हैन सायद तपाईँहरूको सजाय पनि लेखिसकेका होलान्।'

प्रकाशित: ३१ असार २०८२ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App