आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ।
नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्स सहभागी रहने उक्त शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ। त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनले आगामी केही महिना नेपाली क्रिकेटका लागि अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै विश्वकप लिग–२ का खेलसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीसमेत समानान्तर रूपमा अघि बढ्ने बताए।
टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको बताए। उनले पछिल्लो सातादेखि टोलीले विशेष रूपमा फिटनेस र खेल रणनीतिमा ध्यान केन्द्रित गरेको जानकारी दिए।
रोहितका अनुसार विश्वकप छनोटको लक्ष्य हासिल गर्न लिग–२ अन्तर्गतका बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण भएकाले टोली प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
प्रकाशित: २१ असार २०८३ १५:२१ आइतबार





