३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुग्दैछन्: नेता थापा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुगेको दाबी गरेका छन्। बुधबार कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै थापाले यस्तो दाबी गरेका हुन्।  

बारम्बार सरकार परिवर्तन भइरहने, सत्ता समीकरणहरू बदलिइरहँदा संघीयता देशका लागि आवश्यक छैन भन्ने निश्कर्षमा जनता पुगेको उनले बताए।  त्यहिकारण फागुन २१ गते जनताले मत वदलेको थापाको भनाई छ। उनले भने‘प्रदेशमा बारम्बार सरकार परिवर्तन र सत्ताको खिचातानीका कारण देशकालागि संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा जनता पुगेका छन्। त्यहिकारण फागुन २१ गते जनताले मत बदले।’

कोशी प्रदेशमा आफ्नो दल प्रमुखप्रतिपक्षको भूमिकामा रहे पनि आफूलाई विपक्षी भएको अनुभूति नभएको उनले बताए। उनले विपक्षीमा भए पनि जनहितका काममा सरकारलाई सहयोग गर्नै थापाले प्रतिबद्धता व्यक्त गरे। सरकारका राम्रा काममा सहयोग गर्ने र जनविरोधी कार्यको मात्र विरोध गर्ने स्पष्ट पारे। प्रदेश सरकारप्रति लचिलो देखिएका थापा संघीय सरकारप्रति भने आक्रमक रूपमा प्रस्तुत भएका थिए।  

उनले नयाँ सरकारले जनताका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाए।  संघीय सरकार सामाजिक सञ्जालको लाइक र कमेन्ट हेरेर चलिरहेको  भन्दै प्रधानमन्त्रीको संसद्प्रति कुनै उत्तरदायित्व नदेखिएको टिप्पणी गरे। उनले विगतमा ठूला दलहरूले देश लुटेको भन्दै हिँड्ने नयाँ शक्तिहरू सरकारमा पुगेपछि झन् बढी कर थोपरेर जनताको ढाड सेक्ने काम गरिरहेको बताए। यसैवीच बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। 

प्रकाशित: ३ भाद्र २०८३ २१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App