१९ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षामा दलीयकरणले गम्भीर समस्या सिर्जना गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा दलीयकरणले गम्भीर समस्या निम्त्याएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन आवश्यक रहेको धारणा राखे।

उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति र शिक्षक चयनसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको उल्लेख गरे।

थापाले भने, ‘शिक्षामा राजनीति भयो भन्छौँ, शिक्षामा राजनीति भएन पनि भन्छौँ। वास्तवमा शिक्षामा दलीयकरण भयो। व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो, शिक्षक पनि हाम्रो मान्छे भन्ने सोचबाट अब बाहिर निस्कनुपर्छ। त्यो राजनीति होइन, दलीयकरण थियो। अब त्यसबाट मुक्त हुनुपर्छ।’

उनले विभिन्न राजनीतिक विचारसँग आबद्ध हजारौँ शिक्षकले आफ्नो पेशागत दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै समुन्नत नेपाल निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

कांग्रेस सभापतिका रूपमा शिक्षक संगठनमा आबद्ध शिक्षकहरूलाई सम्बोधन गर्दै उनले विद्यालयमा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

उनले भने, ‘आज कांग्रेस सभापतिका रूपमा शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूलाई मेरो आग्रह यही हो—विद्यालयमा आफ्नो भूमिका इमानदारीपूर्वक र प्रभावकारी ढंगले निर्वाह गर्नुस्। नेपाली कांग्रेसलाई त्यसभन्दा ठूलो योगदान अरू केही हुन सक्दैन।’

प्रकाशित: १९ असार २०८३ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App