युरोपमा बढ्दो गर्मीको लहरका कारण फ्रान्समा जुन महिनाको अन्तिम सातामा दुई हजार बढीको मृत्यु भएको छ। गर्मीका कारण २,०२५ जनाको मृत्यु भएको र यो संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताए।
फ्रान्सको सार्वजनिक स्वास्थ्य एजेन्सीका अनुसार जुन २२ देखि २८ सम्म मृत्युको संख्या उल्लेखनीय रूपमा बढेको हो। विशेषगरी ४५ वर्षभन्दा माथिका व्यक्तिहरू बढी प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले गर्मीका कारण मृत्युमा स्पष्ट वृद्धि देखिएको बताइन्।
जुन २४ मा फ्रान्सले इतिहासकै सबैभन्दा तातो दिनमध्ये एक अनुभव गरेको थियो। पेरिसमा तापक्रम करिब ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधाभन्दा बढी क्षेत्रमा उच्च सतर्कता जारी गरिएको थियो।
गर्मीका कारण डुबेर मृत्यु हुने घटनासमेत बढेका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार जुन १८ यता ७२ जनाको डुबेर मृत्यु भएको छ।
छिमेकी देशहरू पनि गर्मीबाट प्रभावित भएका छन्। बेल्जियममा गर्मीका कारण १,२२२ जनाको मृत्यु रेकर्ड गरिएको छ। जसमा धेरैजसो ८५ वर्ष वा सोभन्दा माथिका व्यक्ति रहेका छन्।
नेदरल्याण्ड्समा पनि गत सातामात्रै करिब ४८० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मौसमविद्हरूका अनुसार फ्रान्स, स्पेन, पोर्चुगल र बेलायतका केही क्षेत्रमा आगामी दिनमा फेरि तापक्रम बढ्ने सम्भावना छ। फ्रान्सको दक्षिणी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अत्यधिक गर्मीका कारण डढेलोको जोखिम पनि बढेको छ। फ्रान्सको दक्षिणी क्षेत्रमा जंगलमा आगलागीको उच्च जोखिम भन्दै सतर्कता जारी गरिएको छ।
यस वर्षको गर्मीयाम सुरु भएयता करिब ७ हजार स्थानमा आगलागी भएको र ८,७०० हेक्टरभन्दा बढी जंगल जलेको सरकारी तथ्यांकमा उल्लेख छ।
पोर्चुगलले देशभर सतर्कताको अवस्था घोषणा गरेको छ भने केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। स्पेनका दक्षिणपश्चिमी क्षेत्रहरूमा पनि उच्च तापक्रमको चेतावनी जारी गरिएको छ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोप विश्वका अन्य क्षेत्रको तुलनामा अझ छिटो तातिरहेको छ। यसले गर्मीको लहर, पानीको अभाव र डढेलोको जोखिम झन् बढाउँदै लगेको उनीहरूको भनाइ छ।
प्रकाशित: १९ असार २०८३ १६:४६ शुक्रबार





