अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको उत्सव मनाउने तयारी गरिएको छ। आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।
महोत्सवमा गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल मुख्य आकर्षणका रूपमा रहनेछन्। उनीहरूले आफ्ना चर्चित तथा लोकप्रिय गीतमार्फत सिड्नीमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन्।
विशेषगरी ‘पिरिम नलाउने’, ‘दाह्री फुल्यो बैंसैमा’ र ‘एक कान दुई कान मैदान’ जस्ता हिट गीतका गायक आशिष सचिनको प्रस्तुतिलाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। त्यस्तै, प्रकाश सपुतले आफ्ना लोकप्रिय लोक तथा आधुनिक गीत प्रस्तुत गर्नेछन् भने रचना रिमालले पनि चर्चित गीतमार्फत सांगीतिक माहोल तताउनेछिन्।कार्यक्रममा चर्चित र्यापर सुदिन पोखरेलसहित अन्य कलाकारको समेत प्रस्तुति रहनेछ। विभिन्न सांगीतिक विधाका कलाकारको सहभागिताले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने आयोजकको विश्वास छ।
सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने महोत्सवमा सांगीतिक कार्यक्रमसँगै नेपाली कला, संस्कृति, मौलिक भेषभूषा, नृत्य र परम्परागत खानाका परिकारसमेत प्रस्तुत गरिनेछन्।
प्रवासमा नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभलले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। साथै, नेपाली संस्कृति र परम्परालाई विदेशी समुदायमाझ परिचित गराउने अवसरका रूपमा समेत महोत्सवलाई हेरिएको छ।
महोत्सवमा नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्व र सर्वसाधारणको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।नेपाली संगीत, कला र संस्कृतिलाई एउटै उत्सवमा समेट्न लागिएको यस महोत्सवमा प्रकाश सपुत, आशिष सचिन र रचना रिमालको सांगीतिक प्रस्तुतिले सिड्नीमा नेपाली गीतसंगीतको विशेष रौनक थप्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १४:४२ बिहीबार





