६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पार्टीनिकट कर्मचारीलाई चुनावमा नखटाइने

निर्वाचन आयोगले विभिन्न पार्टीनिकट कर्मचारी फागुन २१ गते हुने निर्वाचनमा नखटाउने भएको छ। दलनिकट संघसंगठनका कार्यसमितिमा रहेका सदस्य कर्मचारीहरूलाई निर्वाचनमा नखटाउने निर्णय भएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए। उनका अनुसार फागुन २१ को निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी परिचलान गरिनेछ। प्रत्येक जिल्लामा दुईदेखि तीन कर्मचारीलाई जगेडामा राखिने भएको छ। कुनै ठाउँमा आवश्यक परे तत्कालै खटाउन सकियोस् भनेर त्यसो गरिएको बताइएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको छ।

आयोगका अनुसार निर्वाचनमा निजामती कर्मचारी, विभिन्न संघसंस्थाका कर्मचारी तथा स्वयंसेवकसमेत परिचालन गर्न लागिएको छ। पाँच सयसम्म मतदाता भएको मतदान केन्द्रमा आठ जना र पाँच सयदेखि एक हजारसम्म मतदाता भएको केन्द्रमा नौ जनाका दरले कर्मचारी परिचालन गर्ने व्यवस्था आयोगले मिलाएको छ। यसबाहेक फिल्डमा खटिने मतदान अधिकृतलाई आवश्यक परे तत्कालै स्वयंसेवक कर्मचारी भर्ना गर्न सक्ने अधिकार दिइएको छ। त्यस्ता स्वयंसेवक कर्मचारीले निर्वाचनमा खटिने अन्य निजामती कर्मचारीसरह भत्ता र सुविधा पाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार फागुन २१ गतेको निर्वाचनमा अन्तिम मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ पुगेको आयोगले जनाएको छ। आयोगका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार आठ सय ६, महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० थियो।

२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या पाँच लाख २२ हजार पाँच ५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या आठ सय ८५ ले वृद्धि भएको आयोगले जनाएको छ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले निर्वाचनमा भाग लिन एक सय १४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ।

उम्मेदवारको विवरण सार्वजनिक

फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारले त्यसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको छ।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्न आवश्यक रहेको भन्दै कानुनी व्यवस्थाअनुसार नै सबै उम्मेदवारले पेस गरेका विवरण आयोगले आफ्नो वेबसाइटमाा राखेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: ११ माघ २०८२ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App