१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सभामुख निर्वाचन २२ गते, मनोनयन शुक्रबार

प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

सभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको छ। संविधानअनुसार संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सांसदहरूले आफूमध्येबाट सभामुख र उपसभामुख चयन गरिसक्नुपर्नेछ।

यी दुई पदमध्ये एकमा फरक दल र फरक लिङ्ग हुनुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो बैठकमा सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सांसदहरूलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। १८ वर्षपछि प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरबाट सरेर सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्न लागेको हो।

राष्ट्रियसभाको २०औँ अधिवेशन भने सचिवालयकै पुरानो भवनमा बस्नेछ।

यसपटकको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याएपछि संसद्को शक्ति सन्तुलन र सिट व्यवस्थापन विगतभन्दा विल्कुलै फरक हुनेछ।

संसद् सचिवालयका अनुसार सभामुखको दाहिनेतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष बस्नेछन्। सत्तापक्षको लहरमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद रहनेछन् भने प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद बस्नेछन्। प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको आसन नजिकै मिलाइएको छ।

गत भदौको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार यसपटक संसद्मा युवा सांसदहरूको बाहुल्य छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद छन्।

संसद्मा १७९ पुरुष र ९६ महिलाको प्रतिनिधित्व छ।

प्रकाशित: १८ चैत्र २०८२ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App