१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

वीर सुधारका १४ निर्णय: अस्पतालमा रुखो व्यवहार गर्नेलाई कारबाही

मुस्कानसहितको सेवा अनिवार्य

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले स्वास्थ्य सेवालाईं थप प्रभावकारी बनाउन मुस्कारसहितको सेवा सञ्चालन गर्ने निर्णय भएको छ। अबका दिनमा स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने छ । चैत १६ को अस्पताल विकास समितको बैठकले यो निर्णयसहित १४ वटा निर्णय सार्वजनिक गरेको छ । निर्णय आइतबारदेखि नै लागु भएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए । ‘सबै निर्णय लागू सुरु भइसकेको छ’ उनले नागरिकसँग भने ।  

सेवा लिन पुगेका बिरामीलाई रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिएको छ । ‘सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने, रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्नेछ,’  अस्पतालले गरेको निर्णयमा उल्लेख छ ।

त्यसैगरी चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने अर्को कडा नियम भएको छ । त्यसैगरी अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य लगाउनु पर्नेछ ।  

समितिको बैठकले चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ । बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म अनिवार्य बस्नु पर्ने, कार्यालय समयमा ढिला अनुपस्थित भएमा या विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियम अनुसार कारवाही गरिने, बिहान ९.३० बजे आउने र बेलुकी ४ बजे अघि नै निस्कने कर्मचारीलाई गयल मानिने र आधा दिनको बिदा काटिने निर्णय भएको छ ।  

त्यसैगरी अस्पतालको आन्तरिक व्यवस्थापनलाई निगरानी गर्न प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठको संयोजकत्वमा ‘सरसफाइ अडिट’ र सहायक निर्देशक डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा ‘हाजिरी अडिट’ समिति समेत गठन गरेको छ ।  

अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने निर्णय पनि भएको छ ।

वीर सुधार्ने १४ निर्णय

१.शासकीय सुधारको लागि मन्त्रिपरिषद्को ‘शासकीय सुधारको मार्गचित्र’ अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक निर्देशनहरू कार्यान्वयन ।

२.  प्रष्ट कागजातः बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने ।

३. पोसाक र परिचयपत्रः स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने ।

४. अनिवार्य उपस्थितिको लागि  चिकित्सक र कर्मचारीहरू समयमै उपस्थित हुनुपर्नेछ ।उपस्थित नभएमा सम्वन्धित विभागीय प्रमुखलाई जानकारी गराउनु पर्नेछ ।  गयल भएमा नियमानुसार कारबाहीको सिफारिस गरिने।

५. सरसफाइ अडिट गर्नको लागि अस्पतालको सरसफाइ निगरानीका लागि संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन।

६. हाजिरी अडिटः कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

७. सार्वजनिक बिदाः वि.सं. २०८३ को सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने ।  

८. कार्यालय समयः २०८३ वैशाख १ देखि बिहान ९ देखि ५ बजेसम्म -जाडोमा ९ देखि ४ बजेसम्म) को समय निर्धारण।

९. प्रोत्साहन भत्ता भने  ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिने कर्मचारीको हकमा कार्यसम्पादको आधारमा प्रदान गरिनेछ ।  

१०. फार्मेसी सुधाको लागि  फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने।

११. बिहान ९:३० बजेपछि आउनेलाई गयल मानिने र आधा दिन बिदा काटिने, ढिलो भएमा निर्देशकको सञ्जाल समुहमा जानकारी दिनु पर्ने छ ।  

१२. कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने ।  

१३. सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर ग्रुपमा अपडेट हुनुपर्ने र खटाएको ठाउँमा नभेटिए यसको भागेदार कर्मचारी आफै हुनु पर्ने ।  

१४ सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने। रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्ने।

 

प्रकाशित: १८ चैत्र २०८२ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App