विपक्षी दलहरूको अवरोधका कारण मधेस प्रदेश सभा बैठक स्थगित भएको छ ।
सरकारले ल्याएको बजेटमा बेचौलियाको प्रवेश भएको भन्दै विपक्षी दलहरूले बजेट पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने अडान राखेपछि बैठक स्थगित भएको हो ।
जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
बैठकको सुरुमै जसपा नेपालका सांसद तथा प्रमुख सचेत रामअशिष यादवले सरकारले बिचौलियाको स्वार्थमा ल्याएको बजेटमा आफूहरू साक्षी नबन्ने र यो बजेट पुनर्लेखन नभएसम्म विपक्षी दलहरूको अवरोध जारी रहने बताएका थिए।
विपक्षी दलको तर्फबाट सांसद यादवले आफ्नो कुरा राखेपछि सभामुख मण्डलले पाँच मिनेटमै बैठक स्थगित गरेका थिए।
सांसदहरूले सिफारिस गरेको योजना हटाएर बिचौलियाले दिएको योजनाहरू रातो किताबमा समावेश गरेको भन्दै बजेट प्रस्तुत भएपछि पहिलो बैठक देखि नै विपक्षी दलका सांसदहरूले अवरोध गर्दै आएका छन् ।
प्रकाशित: २५ असार २०८२ १७:५९ बुधबार


-600x400.jpg)


