१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका एक प्रदेश सभापति र २७ जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा

पुसमा नियमित महाधिवेशन सम्भव छैन, विशेष सुनिश्चित गरियोस्’

नेपाली कांग्रेसका एक प्रदेश सभापति र २७ जिल्ला सभापतिले विशेष महाधिवेशनका पक्षमा आफूलाई उभ्याउँदै विज्ञप्ति निकालेका छन्। आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै उनीहरूले विशेष महाधिवेशनका पक्षमा आफूलाई उभ्याएका हुन्। 

कांग्रेसका ७ प्रदेश सभापतिमध्ये लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। उनी यसअघि पनि विशेष महाधिवेशन पक्षधरका भेलामै उपस्थित भएर धारणा राख्दै आएका थिए। यस्तै केही दिन अघिको एक भेलामा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा पनि सामेल भएका थिए। तर पछिल्लो विज्ञप्तिमा भने उनको हस्ताक्षर सामेल छैन। 

यस्तै विशेष महाधिवेशनको पक्षमा उभ्याउने जिल्ला सभापतिहरूमा महेन्द्र ध्वज जिसी (नवलपुर), चतुर बहादुर चन्द (बैतडी), केशव श्रेष्ठ (अर्घाखाँची), दिनेश राई (धनकुटा), विनोद बान्तवा (भोजपुर), अर्जुन तुम्बाहाम्फे (तेह्रथुम), केदार भण्डारी (सुनसरी), हिमाल कार्की (उदयपुर),  रामदेव साह (सप्तरी), पेम्बा छिरिङ तामाङ (रसुवा), कृष्ण ‘सबुज’ बानियाँ (काठमाडौं), जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर), तीर्थ लामा (काभ्रे), जंगबहादुर लामा (सिन्धुपाल्चोक), ललितसिंह बोहरा (दार्चुला), नन्दप्रसाद न्यौपाने (गोरखा), किशोरदत्त बराल (कास्की) र युवराज जोशी (पर्वत) छन्। 

यस्तै खिलध्वज पन्थी(गुल्मी), हिमालदत्त श्रेष्ठ(पाल्पा), अर्जुनकुमार पोखरेल(नवलपरासी), अब्दुल कलाम(कपिलवस्तु), केशरमान रोका(रुकुम पूर्व), किशोरकुमार आचार्य(रोल्पा), विष्णुकुमार गिरि(प्युठान), नारायणप्रसाद गौडेल(बाँके) र केशरबहादुर विष्ट(सल्यान)ले पनि आफूलाई विशेष महाधिवेशनका पक्षमा उभ्याएका छन्। 

विज्ञप्तिमा के छ? 

प्रदेश सभापति र जिल्ला सभापतिहरूले विशेष महाधिवेशनका पक्षमा उभ्याउँदै जारी गरिएको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमिति बैठक अनिर्णीत भएकामा असन्तुष्टि व्यक्त गरिएको छ। 

‘डेढ महिनासम्म पनि बैठकले १५औँ महाधिवेशनको कार्य तालिका टुंग्याउन सकेको छैन, बरु पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

लोकतान्त्रिक पार्टी महिनौँसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु दुःखद विषय रहेको विज्ञप्तिमा भनिएको छ। समयमा निर्णय गरेको भए मंसिरभित्र १५ औँ महाधिवेशन सम्भव रहेको प्रदेश–जिल्ला सभापतिहरूले दाबी गरेका छन्। तर त्यो सम्भावनाको ढोका बन्द गर्न गलत मनसायका साथ अनावश्यक रूपमा बैठक लम्ब्याउँदै गएको आरोप लगाइएको छ। 

‘पार्टी विधान र अभ्यास अनुरूप प्रारम्भमा बैठकमा महाधिवेशन कार्य तालिका पेस गर्ने नदिनु, समयमा मिति नतोक्नु र अहिले अनेकन् छलफलका नाममा महाधिवेशनलाई धकेल्ने प्रयास गर्नु विडम्बनाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ। अहिले दिन धकेल्दै गएर असम्भव भएपछि मात्र पुस मसान्तमा १५ औँ महाधिवेशन गर्ने भनेर फगत कार्य तालिकाका लागि कार्य तालिका ल्याउने प्रयास भइरहेको उनीहरूको आरोप छ। 

‘तल्लो तहका अधिवेशन नभएको कारण देखाई केन्द्रीय महाधिवेशन रोक्ने जस्ता षडयन्त्रको ताना बुना बुनिँदै छ, यसको हामी निन्दा गर्न चाहन्छौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यो तर्फ नलाग्न हामी सचेततापूर्वक केन्द्रीय कार्य समितिलाई ध्यानाकर्षण गराउन चाहान्छौं।’ 

विज्ञप्तिमा फागुन २१ का लागि घोषित आम निर्वाचनमा काग्रेस नयाँ नेतृत्व र नीतिसहित जानुपर्ने अपरिहार्य रहेको कुरा उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्। ‘यो हाम्रो जोडदार माग र दृढ विश्वास पनि हो,’ विज्ञप्तिमा भनिएको छ। 

पुसभित्र १५ औँ महाधिवेशन सुनिश्चित हुने विश्वासिलो आधार नभएको भन्दै उनीहरूले सोही मितिमा विशेष महाधिवेशन सम्पन्न सुनिश्चित गर्न माग गरेका छन्। 

May be an image of text
May be an image of text

प्रकाशित: १४ मंसिर २०८२ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App