२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओली बयान दिन जानुपर्छ: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झ्वाकमा नभई पार्टी रुपान्तरणका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको प्रस्ट पारेका छन्।

एमाले ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। यसै सन्दर्भभमा बुधबार काठमाडौंमा सम्पादकहरुसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई सामूहिक नेतृत्वमा लैजान र रुपान्तरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको प्रस्ट पारेका हुन्। उनले एक साताअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

पोखरेलको घोषणासँगै निर्विरोध अध्यक्ष हुने केपी शर्मा ओलीको चाहनामा ठेस लागेको छ। ओली तेस्रो कार्यकाल पनि अध्यक्ष हुने योजनामा छन्। ओली आफू सर्वसम्मत हुन लागिपरेका छन्। पुनः अध्यक्ष बन्न सहयोगका लागि ओलीले राखेको आग्रहलाई पोखरेलले अस्वीकार गरिसकेका छन्।

पोखरेलले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओली भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

ओलीले आयोग गठन प्रक्रियाप्रति असहमति जनाउँदै बयान दिन बोलाएमा नजाने बताउँदै आएका छन्। सम्पादकहरूसँगको अन्तरक्रियामा पोखरेलले जेनजी घटना छानबिन आयोगमाथि ओलीले विभिन्न प्रश्न उठाए पनि उसले बयानका लागि बोलाएको बेलामा अवज्ञा नगरी उपस्थित हुनुपर्ने बताएका हुन्। ‘सरकारले बनाएको आयोग हो, हाम्रा कतिपय रिजर्भेसन होलान् तर त्यो आयोगमा बयान दिनुपर्ने कुरा स्वाभाविक हो, बयान दिन जानुपर्छ, म भएको भए अझै अगाडि नै जान्थें होला भन्ने लाग्छ, अवज्ञा गर्ने कुराले राम्रो हुँदैन’, पोखरेलले भने।

पोखरेलले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे।

पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा पराजित भए पनि आफू र आफ्नो टोली एमालेमै रहने स्पष्ट पारे। ‘हामी जित्छौं भन्ने विश्वास छ, तर हारियो भने पनि माधव नेपालजी वा भीम रावलजीको जस्तो छुट्टै पार्टी खोल्ने दृष्टान्त हाम्रोमा लागू हुँदैन। हामी सधैं नेकपा एमालेकै पक्षमा रहिरहन्छौँ’, पोखरेलले भने।

उनले प्रतिस्पर्धाबाट आउने नतिजा स्वीकार गर्न नसक्ने राजनीतिक संस्कारतर्फ इंगित गर्दै भने, ‘जित्दा मात्रै खुशी हुने होइन, हार्दा पनि स्वीकार गर्ने मानसिकता आवश्यक छ। प्रतिस्पर्धा गर्नेहरूले परिणाम स्वीकार गर्न सक्नुपर्छ भन्नेमा हामी सचेत छौं।’

प्रकाशित: २५ मंसिर २०८२ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App