२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीले भने- यो मान्छेको मात्र भिड होइन, कसैले ‘अन्डरएसटिमेट’ नगरोस्, यो आन्दोलन हो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा उर्लिएको जनसागरलाई सामान्य भिडभाडका रूपमा मात्र नबुझ्न चेतावनी दिएका छन्।

शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेको शक्तिलाई ‘अन्डरएसटिमेट’ चुनौती दिएका हुन्।

अध्यक्ष ओलीले महाधिवेशनस्थलमा उपस्थित विशाल जनसहभागितालाई इङ्गित गर्दै भने, ‘यो मानिसहरूको भिड मात्रै होइन, यो एउटा आन्दोलन हो, देश र लोकतन्त्र जोगाउने अभियान हो।’

अध्यक्ष ओलीले एमालेलाई सिध्याउन चौतर्फी घेराबन्दी भइरहेको बेला जनताको यो उपस्थितिले प्रतिगमन विरुद्धको लडाइँको सन्देश दिएको बताए।

उनले भने, ‘यसलाई कसैले गल्तीले पनि ‘अन्डरमाइन’ नगरोस्। एमालेलाई होच्याउने, जिस्क्याउने र समाप्त पार्ने सपना देख्नेहरूका लागि यो जनसागर एउटा जवाफ हो।’

एमालेको यो शक्तिले देशलाई लोकतान्त्रिक ट्र्याकमा फर्काएरै छाड्ने उनले उद्घोष गरे। ‘संसद पुनर्स्थापना गराएर छोडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छोडिन्छ, यो नेकपा एमालेको संकल्प हो,’ ओलीले भने।

अध्यक्ष ओलीले एमालेको ११ औँ महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नभई देशलाई अस्थिरताबाट जोगाउने र विकासको अभियानलाई निरन्तरता दिने संकल्प भएको दाबी गरे।

उनले कसैले एमाले फुटाउन वा कमजोर पार्न खोजे पनि त्यो दिवास्वप्न मात्र हुने जिकिर गरे।

प्रकाशित: २७ मंसिर २०८२ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App