टाईब्रेकरमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवलाई ४–२ ले पराजित गर्दै मरिक फुटबल क्लव धरान ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको फाइनलमा पुगेको छ ।
निर्धारित खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । टाईब्रेकरमा मरिकका लागि अशोक खवास,फोफोना इब्राहिम,सुशिल राई र बिनोद राईका प्रहार गोलमा परिणत हुँदा आयोजक तेल्लोक स्पोर्टिङ क्लवकातर्फबाट सुनुयोजित यक्सो र सबिन लिम्बूका प्रहारले मात्र जाली चुम्यो ।
आयोजककातर्फबाट प्रहार गरेका शिशिर राईको प्रहार आकासिएर बाहिरिएको थियो भने दीपेश लिम्बूको प्रहारलाई मरिकका गोल रक्षक निशान मगरले रोकिदिएका थिए ।
टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मरिकका सुशिल राई म्यान अफ द म्याच बन्दै नगद २ हजार ५ सय रुपैयाँ पाउन सफल भए । यसअघि खेलमा सुरुआती अग्रता भने आयोजकले लिएको थियो । मध्यान्तर अघि गोलरहित बराबरी रहेको खेलमा मध्यान्तर पछि आयोजकका लागि सबिन तामाङको पासमा दीपेश लिम्बूले उत्कृष्ट गोल गर्दै खेल १–० को अग्रता बनाए ।
खेलमा उत्कृष्ट पुनरागमन गरेको मरिकका लागि फोफोनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । सुशिल राईको किकलाई हेडरमार्फत गोल गर्दै फोफोनाले टिमलाई खेलमा फर्काएका थिए ।
निर्धारित अवधिमा १–१ को बराबरी भएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । मरिक गतबर्षको उपबिजेता हो । अब मरिकले आइतवार हुने दोस्रो सेमीफाइनलमा भिड्ने न्यू स्टार फुटबल क्लव झापा र म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुमबिचको बिजेतासंग उपाधि भिडन्त गर्ने छ ।
मरिक तीन बिदेशी खेलाडी नाना,फोफोना इब्राहिम र एलेक्ससहितका खेलाडी लिएर मैदान उत्रिएको थियो । अघिल्लो बर्ष मंसिर २९ गते सम्पन्न चौथो सिरिजङ्गा गोल्डकपको उपाधि भिडन्तमा मरिक उदयपुर बेलकाको बद्ररहुड फुटबल क्लवसंग सडनडेथमा पराजित हुँदै उपबिजेता भएको थियो ।
पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको बिजेता टिमले नगद ३ लाख ३२१ रुपैयाँका साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीन वर्षे रनिङ ट्रफी तथा उपबिजेताले नगद १ लाख ५० हजार रुपैयाका साथ ट्रफी पाउने छन् ।
प्रकाशित: २७ मंसिर २०८२ १९:२४ शनिबार





