१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

ओलीले भने- अध्यक्ष हटाउने कुरा अपराध थियो, अब क्षमा हुँदैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गर्दै अब पार्टीभित्र कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र अनुशासनहीनता क्षमा नहुने चेतावनी दिएका छन्।

विगतमा भएका अध्यक्ष हटाउनेसम्मका गतिविधिलाई अपराधपूर्ण रहेको भन्दै उनले ती सबै कुरा बिर्सेर अब सम्पूर्ण तागत आगामी स्थानीय निर्वाचन र संगठन निर्माणमा लगाउन निर्देशन दिए।

कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको सन्देह अब समाप्त भइसकेको दाबी गरे।

‘विगतमा पुनर्गठनको नाममा अध्यक्ष हटाउने भनियो, त्यो अपराधपूर्ण क्रियाकलाप थियो। केन्द्रीय कमिटीअघिका ती सबै कमजोरी क्षमा भयो,’ ओलीले भने, ‘तर अब क्षमा हुँदैन। पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जो कोहीमाथि कडा कारबाही हुनेछ।’

अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको मुख्य दुई गन्तव्य तथा कार्यभारका रूपमा अघि सारेका छन्।

‘दुई कार्यमध्ये कतिखेर कुनमा केन्द्रित हुने भन्ने कुरा पार्टीले निर्धारण गर्छ,’ उनले भने, ‘हामी निर्वाचनमा केन्द्रित हुन्छौं र जित्छौं। जनसंगठनहरू निष्क्रिय छन्, अब पुनर्गठन हुन्छ। हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं, यो चुनावको तयारीको बेला हो, कोराकोर र हानहान गर्ने होइन।’

नेताहरूलाई कार्यक्षेत्र छाडेर ‘टुरिस्ट’ जस्तै नघुम्न चेतावनी दिँदै ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिम्मेवारी पूरा नहुने बताए।

‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,’ उनले भने, ‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै भएकाले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्।’

अन्य कुनै पनि दलसँगको पार्टी एकताको सम्भावनालाई खारेज गर्दै ओलीले यसलाई समयको बर्बादी मात्र हुने बताए। अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्ने भए पनि अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त नभएको उनको भनाइ थियो।

मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले गत वर्ष भदौ २३ र २४ गतेका घटना, राष्ट्रिय सम्पत्ति, सिंहदरबार लगायतका संरचना र व्यक्तिको घरमाथि भएको आगजनीप्रति चिन्ता व्यक्त गरे।

गैरसंवैधानिक कदमहरूका कारण देश सङ्कटमा परे पनि एमालेले लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा फर्काउन दृढ नेतृत्व लिने उनले बताए।

फागुनको निर्वाचनमा बेहोर्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले विरोधीका भ्रम चिर्न तथ्य र प्रमाणका आधारमा ‘डिजिटल क्याम्पेन’ सञ्चालन गरिने जानकारी दिए।

उनले डिजिटल अभिलेख र संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिए।

पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित भर्चुअल बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरू पद्‌मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराई लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।

प्रकाशित: १३ आश्विन २०८३ १६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App