७ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले ११औं महाधिवेशनमा ओलीको उद्घोष: संकटको बेला ढल्ने होइन, अडिने आँट गरौं

नेकपा एमालेले ११औं महामधिवेशनको उद्घाटन भव्य रूपमा गरेर राजनीतिक दलहरू अहिले पनि सक्रिय नै रहेको सन्देश दिएको छ। जेनजी आन्दोलनपछि देशव्यापी रूपमा कार्यकर्ता परिचालन गरेर वर्तमान सरकार असंवैधानिक रहेको सन्देश प्रवाह गरिरहेको एमालेले राजनीतिक दलहरू सक्रिय नै रहेको सन्देश दिएको हो । ११औं महाधिवेशनका अवसरमा संघीय राजधानी काठमाडौंको छिमेकी जिल्ला भक्तपुरबाट एमालेले अन्य लोकतान्त्रि दलहरूलाई पनि कार्यक्रम गर्न र आफ्ना धारणा राख्न उत्प्रेरित गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संकटको बेला ढल्ने होइन, अडिने साहस गर्नुपर्नेमा जोड दिए। ‘एकछिन आफ्नै गाउँठाउँमा, सहरका टोलटोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त! त्यसपछि आफैं महसुस गर्नुहुनेछ– संकटका बेलामा ढल्ने होइन, अडिने साहस यो पार्टीले यत्तिका वर्षसम्म कहाँबाट बटुलेको रहेछ।’ ओलीले भने।

उनले यसो भनिरहँदा औपचारिक कार्यक्रम सुरु हुनुअघि नै सल्लाघारी क्षेत्र खचाखच भइसकेको थियो। जुलुसहरू एक किलोमिटर टाढाबाट आइरहेका थिए। मोबाइल नेटवर्क अवरुद्ध हुँदा कार्यकर्ताले प्रत्यक्ष प्रसारण गर्न सकेका थिएनन् तर पनि ओलीले करिब तीन हजार शब्दको लिखित भाषण गरे। उनले यसपटक कोहीकसैलाई गाली गरेनन्। शिष्ट शैलीमा विपक्षी, विदेशी शक्ति र आफ्नै पार्टीभित्रका असन्तुष्ट समूहलाई प्रहार गर्न भने छाडेनन्।

ओलीले देश अन्योलमा रहेकाले त्यसलाई चिर्न र संवैधानिक बाटोबाट देशलाई निकास दिन एमालेले विकल्पहरू स्पष्ट राखेको बताए। ‘यदि संसद्बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए दलहरूबिच सहमति हुनुपर्छ, संसद्मार्फत संविधान संशोधन गर्नुपर्छ,’ ओलीले भने, ‘प्रतिनिधिसभा विघटन हुनु हुँदैन! यही हाम्रो दृढ अडान थियो। कामचलाउ प्रधानमन्त्रीका नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ।’ ओलीले देशलाई उल्टो दिशामा लगिएको जिकिर पनि गरे।

संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरिएको उनको भनाइ थियो। अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरिएको दाबी पनि उनले गरे। ‘अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन गरिनु असंवैधानिक छ, गलत छ,’ ओलीले भने, ‘प्रतिनिधिसभा तुरुन्त पुनःस्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस्।’

ओलीले सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहे पनि तोकिएकै मितिमा निर्वाचन हुन नसक्ने संकेत गरे। ‘चुनावको मिति तोकिएको छ तर तयारी कतै छ? अहँ देखिँदैन! चुनाव चाहने सरकार के गर्थ्याे? सबै दलको विश्वास जित्थ्यो। निर्णयमा पारदर्शिता देखाउँथ्यो। सभाजुलुस खुला गथ्र्यो। दलका गतिविधिलाई प्रोत्साहित गर्थ्याे। चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्याे,’ उनले भने, ‘तर अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा! यसरी चुनावको वातावरण बन्छ कि डरको?’

ओलीले एमाले समावेशिताको अगुवा भएको जिकिर गरे। ‘समावेशिताको अगुवा, जसले राज्यका हरेक अंगमा न्यूनतम एक तिहाइ महिला सहभागितासहित दलित, अल्पसंख्यक पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ। अर्थात् नेपाली विशेषतासहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवादजस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार,’ ओलीले भने।

उनले एमाले सपना मात्रै देख्ने पार्टी नभएर सपनाको यात्रामा पाइलासमेत चाल्ने पार्टी भएको बताए। ‘हामी सपना मात्रै देख्दैनौं, सपना मात्रै बाँड्दैनौं, प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौं। हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन्,’ ओलीले भने।

उनले राजनीतिलाई एक्लै र लोकतन्त्रलाई सीमित घेराभित्र नराख्ने पनि बताए। ‘हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं,’ उनले भने, ‘त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं। राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्छ।’

ओलीले भारत र विदेशी शक्तिप्रति इंगित गर्दै आफूहरूले गरिरहेको राजनीति विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानवअधिकारको पक्षमा रहेको बताए। ‘हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानवअधिकारको पक्षमा हुनुपर्छ - वसुधैव कुटम्बकम। राजनीति मानव र मानव संसाधनको विकास र खुसियालीसँग सम्बन्धित छ।’ तर एमालेमाथिको प्रहार पनि कम्ती नरहेको उनले बताए। ‘देशहरू भूगोलमा साना या ठुला होलान् तर हामी भन्छौं - सार्वभौमसत्ता बराबर हो। कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने?’

उनले भने, ‘हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मन्जुर छैन।’

ओलीले जेनजी आन्दोलनमा विदेशी शक्ति घुसेको संकेत गर्दै परिवर्तनका लागि हिंसाको आवश्यकता नभएको बताए। ‘हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौं, जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ भन्छौं,’ उनले भने, ‘हामीमाथि प्रहार हुन्छ। हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दुरी बढाउने विषय होइन भन्छौं, हामीमाथि नै प्रहार हुन्छ। हामी भन्छौं - सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो। विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो। कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो। कतिलाई यो मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ।’

ओलीले रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्नेमा आफूहरूले विश्वास गर्दै आएको बताए। हामी सशस्त्र द्वन्द्व, संक्रमणकाल, भूकम्पजस्ता चुनौतीबिच पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौं। कमजोरीलाई पनि महसुस गर्छौं। मुलुक बन्छ र बन्दै छ भन्ने भरोसा राख्छौं। निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन। हामी कमजोर भयौं भने मात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन्।

हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सिधै रहन्छ। त्यसैले हामीमाथि आक्रमण भइरहेको छ। कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर, कलर रेभोलुसन भन्दै ती देखा पर्छन् तर तिनको भित्री लक्ष्य एउटै छ - हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने।’

यसरी ओलीले सम्बोधन सकिँदासम्म पनि टाढाटाढाबाट नारा लगाउँदै सहभागीहरू आइरहेका थिए। उपमहासचिवको सञ्चालन र महासचिव शंकर पोखरेलले स्वागत गरिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने अलमलमा परेका थिए।

महाधिवेशनको सञ्चालन परम्पराअनुसार महासचिवले गर्ने चलन रहे पनि यसपटक उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए। महासचिव पोखरेलले सम्बोधन गरे पनि पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेले स्वागत वा सम्बोधन गरेनन्। त्यसले आन्तरिक राजनीतिमा असन्तुष्टिको सन्देश दिएको छ। यद्यपि वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत मन्तव्य राख्न अनुरोध गरिएको तर पोखरेलले आफूलाई वक्ता बनाउनुपर्ने प्रस्ताव गरेपछि समय नपुग्ने भन्दै उनलाई स्वागत मन्तव्य राख्न लगाइएको संस्थापनका एक नेताले बताए।

राजधानीनजिकै भएको एमालेको ऐतिहासिक महाधिवेशनमा देशका ठुला दलका शीर्ष नेताहरू स्वयं नै भने उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका साथै सोही पार्टीका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल लगायत पनि अनुपस्थित रहे। मधेस केन्द्रित दलका शीर्ष नेता पनि आएनन्। जेनजी आन्दोलनबाट सबैभन्दा बढी क्षति भोगेको एमालेको यो महाधिवेशन शीर्ष नेताको प्राथमिकतामा किन परेनन् भन्ने प्रश्न उठेको छ।

उद्घाटन समारोहमा नेकपाबाट नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महामन्त्री कवीन्द्र बुर्लाकोटी सहभागी बनेका थिए भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव सुरेन्द्र झा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू पुगेका थिए।

मनोनयनमा असहमति

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत एक सय आठ जना प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा मनोनीत ती प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबिच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो। सोही सहमतिअनुसार शनिबार बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानीसमेत भएको बताइए पनि एकलौटी रूपमा सूची जारी गरिएको बताइएको छ।

सहमतिविपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ। सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ।

प्रकाशित: २८ मंसिर २०८२ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App