नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै आफ्नो बचाउ गरे पनि नेता -कार्यकर्ता तहमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तीव्र भएको छ। कार्यकर्ता पंक्तिबाटै यो बहस थालिएको हो। सचिवालयको शुक्रबार र केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका विषयमा व्यापक बहस र छलफल गर्ने तयारीमा नेताहरू छन्।
सुशासनको माग गर्दै सडकमा उत्रिएका जेनजी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका ओलीले सत्तामा रहँदा आफूबाट भएका कमजोरीप्रति अझै आत्मालोचना गरेका छैनन्। उनले नयाँ पुस्ताको मागअनुसार पार्टीमा नेतृत्व हस्तान्तरण र रुपान्तरणका लागि सहयोगी बन्ने संकेत पनि देखाएका छैनन्।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा मन्तव्य दिने क्रममा ओलीले सत्ता र पार्टी नेतृत्वमा रहँदा आफूबाट भएका कमजोरीप्रति कुनै पश्चाताप र आत्मालोचना गरेनन्। उल्टै उनले नेपाली जनता आन्दोलनको आँधी - तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्नेछ भन्दै पार्टीभित्रबाट उठेको नेतृत्व परिवर्तनको बहसलाई फिक्का बनाउने कोसिस गरे। ‘सचिवालय बैठक बस्दैछ, पार्टी अध्यक्षले आन्दोलनको भाषण गर्दै हुनुहुन्छ’, एक पदाधिकारीले भने।
यतिबेला ओेलीकै कारण एमाले नेता - कार्यकर्ता सबैतिरबाट आलोचनाको तारो बनिरहेको विषयलाई उनले मनन गर्न सकेका छैनन्। ‘ओलीको वैचारिक अडान मूलतः ठिकै भए पनि पार्टी सञ्चालनको निरंकुश र असहिष्णु शैली, सधैभरि बदलाको भावना राख्नु, सकारात्मक आलोचनालाई पनि ग्रहण नगर्नु ओलीका कमजोरी हुन्। उनले अध्यक्षबाट राजीनामा दिएर नेतृत्वका लागि विकल्प खुला नगरेसम्म एमाले बलियो हुन नसक्ने बहस पार्टीमा भइरहेको छ। यस्तो बहस भइरहेका बेला उनले पार्टीभित्रकै आलोचकलाई पनि नछाड्ने चेतावनीयुक्त भाषण गरेका छन्’, ती पदाधिकारीले भने।
ओलीले कार्यक्रममा एमाले र आफूले देश र जनताका लागि सक्दो सकारात्मक काम गरेको भन्दै आफ्नो बचाउको प्रयास गरे। ‘एमाले देश विकासको एउटा मार्गचित्र प्रस्तुत गरेर, देश विकासको नमुना देखाएर, देशलाई उठाएर आएको पार्टी हो। नेपालको विकासको बाटो प्रस्तुत गरेर आएको हो। विश्व रंगमञ्चहरूमा, विश्वमञ्चमा नेकपा एमालेले नेपाललाई चिनाएको छ, खास पहिचान देखाएको छ। अहिले त्यो पहिचानलाई केही घण्टाभित्र मटियामेट गर्न खोजियो’, ओलीले भने।
केन्द्रीय कमिटी बैठकमा अध्यक्षबाट ओलीको राजीनामा, एमालेको अबको बाटोलगायतका विषय केन्द्रित छलफल गर्ने तयारीमा नेताहरू छन्। कार्यकर्ता पंक्तिमा पनि एमालेलाई बचाएर देशकै पहिलो पार्टीका रुपमा पुनर्स्थापित गर्ने उद्देश्यले नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस व्यापक बन्दै गएको छ तर ओलीले पार्टीभित्र र बाहिर आफ्नो बचाउ गर्दै नेतृत्व नछाड्ने संकेत गर्दै आएका छन्।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा घनिभूत छलफल हुने बताएका छन्। ‘सचिवालय बैठक बस्दै छ, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुन्छ, नेतृत्वको कार्यशैली र नयाँ पुस्ताकै कारण सत्ता उलटपलट भएको विषयमा पनि छलफल हुनेछ’, ज्ञवालीले भने।
सामाजिक सञ्जाल र छलफलमार्फत सचेत कार्यकर्ताले एमालेको रुपान्तरणका लागि दबाब बढाइरहेका छन्। पार्टीमा पुनर्जागरणका लागि नेता-कार्यकर्ताको बोली - कार्यशैलीमा व्यापक सुधार ल्याउन, अध्यक्षबाट ओलीको बिदाइसँगै ७० वर्षे उमेरहद कायम गरी पार्टी नेतृत्वमा दुई कार्यकाल भन्दा बढी रहन नपाउने व्यवस्था गर्न कार्यकर्ताबाट दबाब आइरहेको छ।
‘सेप्टेम्बरको जेनजी विद्रोहलाई पूर्णतया विदेशी षड्यन्त्र र घुसपैठका रुपमा मात्र बझ्नु एमालेसहित पुराना दलहरुको सर्वथा गलत दृष्टिकोण हो। जो जसले इन्जेक्ट गरेको भए पनि सडकमा सरकार विरोधी नारा लगाउने लाखौं मानिस नेपाली नै थिए। तसर्थ गल्ती, कमजोरीहरुको सुधारको सुरुवात मूल धारका नेताहरुमा रहेको अहंकार हटाएर गर्नुपर्छ। कार्यकर्ता र नागरिकले गर्ने खबरदारी र आलोचनालाई ग्रहण गर्ने, शान्तिपूर्वक रेसपोन्स गर्ने। मिडियाले प्रस्तुत गरेका नियोजित कथ्यहरु उपर प्रमाण र तथ्यसहित स्पष्टीकरण दिने कार्यमा विशेष ध्यान दिनुपर्छ’, पार्टी रुपान्तरण र नेतृत्व परिवर्तन बहसको पहिलो बुँदामा भनिएको छ।
तर ओली भने पार्टीभित्र उठिरहेको आन्तरिक बहसलाई मत्थर पार्न अन्तरिम सरकारलाई हटाउने आन्दोलन गर्ने भन्दै विषयान्तर गर्न खोजिरहेका छन्। ओलीले भक्तपुरमा आयोजित सभामा अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको भन्दै पार्टीमा रुपान्तरण र नेतृत्व परिवर्तनको विषयलाई छल्न खोजे।
‘देशमा सरकार छ तर संविधानअनुसार बनेको होइन। बलमिच्याइँले यो सरकार बनेको छ। सुशीला कार्कीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो - शपथग्रहण गरेपछि तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु, त्यो सिफारिस लागु हुनुपर्छ, संसद् भंग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छन्। संसद् भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो’, ओलीले भने।
उनले थपे, ‘उहाँलाई राम्ररी थाहा छ। नेपालको संविधान व्याख्या गरेर आएको मान्छे हो उहाँ। केके व्याख्या गर्नुभयो, त्यो सब छोडिदिनुस् तर नेपालको संविधानले स्पष्ट रूपमा भन्छ, सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति, पूर्वप्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभको पदमा बस्न सक्दैन।’
ओलीले अराजकता स्थायी हुन नसक्ने भन्दै कार्यकर्ताको ध्यान मोड्न पनि खोजे। ‘अराजकताको बाटोमा देश जान सक्दैन। देशलाई लोकतन्त्रको बाटोमा, संविधानको बाटोमा, कानुनको बाटोमा, कानुनी राजको बाटोमा फर्काइन्छ। हाम्रो संकल्प त्यो हो। नेपालका जेनजी लगायत सम्पूर्ण युवाको, सम्पूर्ण नयाँ पिँढीको उद्देश्य यो देशमा शान्ति सुव्यवस्था कायम हुनुपर्छ भन्ने हो, शान्ति सुव्यवस्था कायम गरेर छोडिनेछ’, ओलीले भनेका छन्।
ओलीले जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरुसँगको भर्चुअल बैठकमा पनि अहिले नै आफू नेतृत्व छाडिहाल्ने पक्षमा नरहेको बताएका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले मंगलबार भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने संकेत गरेका हुन्।
त्यति मात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य भएको भन्दै नेतृत्व नछाड्ने संकेत गरे। ओलीले गण्डकी, कर्णालीका इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन्।
‘कार्की सरकार र आयोग अस्वीकार्य’
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र गौरीबहादुर कार्कीको नेतृत्वमा जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनाइएको आयोगलाई स्वीकार गर्न नसकिने बताएका छन्। उनले कार्की सरकार र कार्की आयोग दुवै असंवैधानिक रहेको दाबी गरे।
ओलीले जेनजीलगायत सबैको चाहना देशमा कानुनी राज हुनुपर्छ, सुशासन हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्ने नै रहेको बताए। उनले सम्पत्ति छानबिनबाट आफू नडराउने पनि बताए। उनले भने, ‘म भन्न चाहन्छु - सम्पत्ति छानबिन गरे। एकपटक होइन, दशपटक सम्पत्ति छानबिन गर।’
ओलीले अहिलेका मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न पनि आग्रह गरे। उनले भने, ‘म सोध्न चाहन्छु मन्त्रीजीहरू - तपाईंहरूको सम्पत्ति छानबिन गराउन आँट गर्नुहुन्छ?’ उनले सरकारले जाँचबुझ आयोग बनाएर नाटक गरेको पनि बताए। उनले भने, ‘मजाको कुरा छ– पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ, जकाउनुपर्छ भन्नेहरूले आयोग बनाएर गजबको नाटक गर्ने।’
उनले यस्तो नाटक नेकपा एमालेलाई स्वीकार्य नभएको पनि बताए। उनले भने, ‘मैले मधुरो भाषामा भनेको छु - यो स्वीकार्य छैन, नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन। लुसुलुसु अगाडि बढ्नुभएको छ। बढ्नुस्। तपाईंहरूको प्रतिवेदन लेख्नुस्।’
प्रकाशित: २४ आश्विन २०८२ ०६:२२ शुक्रबार





