२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनमा ओलीको भव्य स्वागत : सल्लाघारीमा कार्यकर्ताको बाक्लो भीड

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। अध्यक्ष ओली महाधिवेशनस्थलमा तीनवटा गाडीको स्कर्टिङ (सुरक्षा घेरा) सहित समारोहस्थलतर्फ पुगेका थिए। 

विभिन्न स्थानबाट ७० प्रतिशत जुलुस तथा र्‍यालीहरू महाधिवेशनस्थल आइपुगेका छन्। कार्यक्रम स्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसकेका थिए। अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरेका छन्।

महाधिवेशन स्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठुला–ठुला र्‍यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ। उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ। कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको छ।

उता, औपचारिक उद्घाटनअघि सल्लाघारीस्थित मैदान भरिन थालेको छ। प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थलमा पुग्ने क्रम तीव्र बनेको छ। देशका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूसहितका र्‍यालीहरू झण्डा र ब्यानरसहित महाधिवेशन स्थलतर्फ अगाडि बढिरहेका छन्। ठाउँ नपाइने डरका कारण धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनुअघि नै महाधिवेशन स्थलमा पुगिसकेका छन्। यसले सल्लाघारी क्षेत्रलाई बिहानैदेखि उत्साह र चहलपहलले भरिएको बनाएको छ।

पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू पनि क्रमशः सल्लाघारी पुग्ने क्रम जारी छ। उद्घाटन कार्यक्रमअघि महाधिवेशनस्थलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन्। जसले सहभागीहरूको उत्साह थपेको छ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई उद्घाटन समारोह स्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण तथा अन्य सुरक्षा उपाय अपनाइएको छ।

नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ। उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ मंसिर २०८२ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App