२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सम्पत्ति छानबिनमा ओली तयार

अन्तरिम सरकार असंवैधानिक भएको दाबी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार असंवैधानिक भएको दाबी गर्दै नेताहरूको सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताएका छन्। काठमाडौंमा आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भने, ‘सम्पत्ति छानबिन गरौं, अहिलेको मात्र होइन २००७ सालदेखिकै छानबिन गरौं भने पनि म तयार छु।’

ओलीले आफ्नो एकएक पैसाको छानबिन गर्न पनि माग गरे। ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ, मेरो डढेको घरको खरानीको कणकण तपाईंहरूले हिसाब गर्नुपर्ने भए गरे हुन्छ।’

संवादमा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि पोखे। सरकारले खाता रोक्काका लागि गरेको निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु। मैले सांसद् र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०/२५ लाख रुपैयाँ खातामा होला, त्यो त एकछिनमा हिसाब गरे थाहा हुन्छ। बैंकले हिसाब दिइहाल्छ। विश्वभरिका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पठाइदेऊ भने भो, होलान् नि उपायहहरू त।’

ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न बनाइएको आयोगलाई आफूले बयान नदिने पनि बताए। ‘जसले बोलाउँछ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ उनले भने। सरकारले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ।

फेरि सत्तामा फर्कन सक्छु

ओलीले देशमा विद्यमान अराजकता र अस्थिरता कायम रहे जनताले नै आफूलाई फेरि प्रधानमन्त्रीका रूपमा खोज्ने दाबी गरेका छन्। उनले अवस्था यस्तै रहे सम्पादकहरूले नै सम्पादकीय लेखेर आफूलाई सत्तामा फर्कन आह्वान गर्ने दिन आउने ठोकुवा गरे। वर्तमान सरकारको असफलताले देशमा निराशा छाएको दाबी गर्दै ओलीले जनताले यस्तो अराजकता लामो समयसम्म नसहने बताए। उनले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन् नि त। यो किन सहने?’

ओलीले अन्य नेताबाट देश चल्न नसक्ने अवस्था आएपछि जनताले विकल्प खोज्ने र त्यो विकल्प आफू हुनेतर्फ संकेत गरे। ‘अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भन्ने कुरा आउँछ, यस्तो अराजकता कहाँ चल्छ?’ उनले भने। कार्यक्रममा उपस्थित सम्पादकहरूतर्फ लक्षित गर्दै उनले अहिलेको अवस्थाबारे मिडियाले समेत सही विश्लेषण गर्न नसकेको टिप्पणी गर्दै भने, ‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन तर पछि तपाईंहरूले नै सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर।’

मोबाइल सिज भयो

पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलनका बेला नेपाली सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताए। प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले जनाए। ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। यसलाई तपाईंहरू जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मेरो मोबाइल सिज गरिएको थिया। त्यसैले म २७ गते बेलुकासम्म कन्ट्याक्टमा रहिनँ,’ उनले भने, ‘यो अन्तरिम सरकार संविधानअन्तर्गत बनेको होइन। मैले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको छैन।’

सुशीलालाई सिफारिस गरेको छैन

ओलीले आफूले राष्ट्रपतिलाई गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै त्यसमा कतै पनि सुशीला कार्की वा अन्य कुनै व्यक्तिको नाम उल्लेख नभएको स्पष्ट पारे। यसबारेमा प्रचण्ड (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) ले झुटको खती गरेको आरोप ओलीले लगाए। प्रचण्डले ओलीले नै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्दै त्यसको प्रमाण आफूसँग भएको बताउँदै आएका छन्। ओलीले आफ्नो सिफारिसको भाषाबारे प्रस्ट्याउँदै भने, ‘वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा, परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रियाभित्रैबाट खोजिनुपर्ने भएकाले समाधान खोज्नका लागि राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्छु।’

उनले आफूले संसद् बाहिरबाट प्रधानमन्त्री बनाउनुपर्छ भनेर कहिल्यै नभनेको बताए। उनले संसद् जीवितै रहेको अवस्थामा संविधान संशोधन गरेर पनि निकास निकाल्न सकिने विकल्प हुँदाहुँदै संसद् विघटन गरिएको आरोप लगाए।

२३ गतेको घटनाबाट दुःखी

ओलीले गत भदौ २३ गते विद्यार्थीहरूलाई गोली लागेपछि आफू अत्यन्त दःखी भएको बताए। ‘गोली चलेर चार पाँचजनाको मृत्यु भएको सुन्नेबित्तिकै मर्माहत भएर मैले गृहमन्त्रीलाई सोधें। म वास्तवमा धेरै चिन्तित भएँ र छानबिन गराउने निर्णय पनि गरिसकेको थिएँ,’ ओलीले भने। उनले आफूलाई सुरक्षित हुने र आन्दोलन शान्तिपूर्ण हुने ब्रिफिङ भएको दाबी गरे। ‘ब्यारिकेड तोड्ने मोटरसाइकलवाला आएर उधुम सुरु गरे। जेनजीले फर्कौँ भनेर फर्किए। माइकिङ नै गरे। २२ गते राति मलाई विद्यार्थी आउँछन्, जान्छन्, शान्तिपूर्ण हुन्छ भन्ने सुरक्षा ब्रिफिङ थियो,’ उनले भने। उनले विद्यार्थीको आन्दोलनमा गोली चलेको सुनेपछि गृहमन्त्रीलाई सोध्दा रबरको भन्ने जवाफ पाएको बताए। उनले भने, ‘केहीबेरमै फेरि दुई/चारजना विद्यार्थी मरेको खबरे सुनें। विद्यार्थी मारिनुपर्ने के परिस्थिति बन्यो? अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घुसपैठ भयो। सडकमा शान्ति कायम गर्न बसेका प्रहरीसँग एसएलआरजस्ता गोलीगठ्ठा हुँदैनन्।’

ओलीले भदौ २३ गतेको गोलीकाण्ड छानबिन गर्नका लागि आफूले मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गरिसकेको पनि बताए। भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए।

प्रकाशित: ३ कार्तिक २०८२ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App