२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

पुनर्जन्मबारे ओली: ‘सन्तान नै पुनर्जन्म हो, मान्छे मरेपछि अणु-परमाणुमा बदलिन्छ’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनर्जन्मको परम्परागत धार्मिक मान्यतालाई अस्वीकार गर्दै यसको वैज्ञानिक र भौतिकवादी व्याख्या गरेका छन्।

उनले मानिसको पुनर्जन्म उसको सन्तानको रूपमा हुने र मृत्युपछि शरीर अणु-परमाणुमा रूपान्तरित हुने तर्क प्रस्तुत गरे।

सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘हाम्रा कथाहरूले परिकल्पना गरेको पुनर्जन्म हुन्थ्यो भने त्यो बेग्लै हुन्थ्यो होला। तर पुनर्जन्म होइन, पुनर्जन्म भनेको सन्तानलाई पुनर्जन्म भन्न सकिएला।’

उनले जीवन र मृत्युको चक्रलाई भौतिक विज्ञानको दृष्टिकोणबाट व्याख्या गर्दै मानिसको मृत्युपछि उसको भौतिक अस्तित्व समाप्त नहुने तर रूपान्तरण हुने बताए। ‘व्यक्ति चाहिँ रूपान्तरित हुन्छ। एक वस्तुबाट अन्य वस्तुमा, मान्छेबाट अरू चीजमा रूपान्तरण हुन्छ। विभिन्न अणु, परमाणु, अरू चीजहरूमा हुँदै जान्छ र क्वान्टममा पुग्छ,’ उनले सुनाए।

अध्यक्ष ओलीले धार्मिक श्लोक ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ लाई समेत आफ्नो भौतिकवादी व्याख्यासँग जोडे। उनका अनुसार मृत्युपछि मानिसको शरीर ऊर्जा (शक्ति) को रूपमा सबै प्राणीमा रहन्छ र विभिन्न रूप लिँदै जान्छ।

‘ऊ (व्यक्ति) एउटा सबभन्दा सानो झिल्कोको रूपमा कायम रहन्छ। रूपान्तरित त्यसरी हुँदै जान्छ र त्यसले फेरि अर्को के रूप लिन्छ, के रूप लिन्छ, त्यो अनेक रूप लिँदै जान सक्छ,’ उनले थपे।

प्रकाशित: २६ श्रावण २०८२ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App