१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली कुशासनका लागि आएका हुन्, त्यसैको रक्षा गर्दैछन्: दाहाल

फाइल।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा कमजोर, लाचार र निरीह सरकारको संज्ञा दिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कुशासनका लागि नै सत्तामा आएकाले त्यसैको रक्षामा लागेको आरोप लगाए।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नै क्याबिनेटका मन्त्रीहरूको भ्रष्टाचारसम्बन्धी अडियो-भिडियो सार्वजनिक हुँदा पनि प्रधानमन्त्रीले कुनै कारबाही गर्न नसक्नुले सरकारको लाचारीपन पुष्टि भएको बताए।

‘सुशासन आयोगको अध्यक्ष प्रधानमन्त्री आफैँ बस्ने, अनि आफ्नै मन्त्रीको खुलेआम अडियो-भिडियो बाहिर आउँदा केही गर्न नसक्ने ? यो भन्दा कमजोर र लाचार सरकार अर्को हुनै सक्दैन,’ उनले भने।

सरकार गठनको एक वर्षमा आफ्नो पुरानो भनाइ प्रमाणित भएको उनको दाबी थियो। ‘यो सरकार किन, केका लागि र कसका लागि बन्यो भनेर मैले पोहोर जे प्रश्न उठाएको थिएँ, गएको एक वर्षमा सरकारले मेरो भनाइलाई प्रमाणित गरिदियो,’ दाहालले भने।

सरकारले एक वर्षमा सम्झन लायक कुनै राम्रो काम नगरेको टिप्पणी गर्दै उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन ल्याइएको टीआरसी विधेयकलाई भने सकारात्मक रूपमा लिएको बताए।

तर, टीआरसी विधेयकलाई कुलमान घिसिङको नियुक्तिजस्ता विषयसँग साट्न खोजिएको हल्ला बिल्कुल गलत भएको उनले प्रस्ट पारे।

मन्त्रीहरूमाथि लागेको आरोपको प्रधानमन्त्रीले किन रक्षा गरिरहेका छन् भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँहरू (सरकार) त्यही कुशासनको निम्ति आएको हुनाले त्यसैको रक्षामा हुनुहुन्छ।’

प्रकाशित: ३० असार २०८२ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App