पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको बताएका छन्।
नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशमा नयाँ वैकल्पिक शक्तिको उदय अब अनिवार्य भइसकेको बताए।
डा. भट्टराईले अर्थशास्त्रको रचनात्मक ध्वंसको नियम उल्लेख गर्दै नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको तर्क गरे। पुराना शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेकाले वैकल्पिक राजनीति नै अबको एकमात्र निकास भएको उनको भनाइ छ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विषयमा बोल्दै भट्टराईले विज्ञान, प्रविधि र मध्यमवर्गको भावना बुझेकाले सो पार्टी सफल भएको बताए। यद्यपि, उनले रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ रहेको विश्लेषण गरे।
‘अहिले रास्वपालाई शंकाको सुविधा दिनुपर्छ, भर्खरै उदय भएको शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ,’ डा. भट्टराईले भने। उनले देशको ७० देखि ८० प्रतिशत नागरिक अझै पनि शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिए।
पूर्वप्रधानमन्त्री भट्टराईले पुराना दलको विकल्पमा देशमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्ति हुनुपर्ने धारणा अघि सारे। उनले रास्वपाजस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ शक्तिबीच प्रतिस्पर्धा हुनुपर्ने बताए।
यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा स्वस्थ प्रतिस्पर्धा गर्दा मात्र देशको हित हुने उनको तर्क छ।
नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न नसकिने बताउँदै उनले यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक रहेको उल्लेख गरे।
बहुमत वा दुई-तिहाइको सरकारले मात्र निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उनले स्मरण गराए।
प्रकाशित: ३० जेष्ठ २०८३ १७:०७ शनिबार


-600x400.jpg)


