३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

अब झ्याप झ्याप बत्ती जान बन्द हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताएका छन्।

उनले यसलाई नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको समेत बताए। उनले निर्माणको बाँकी प्रक्रिया नेपाल सरकारको मन्त्रिपरिषदबाट आवश्यक निर्णय भएसँगै अगाडि बढेको जनाउँदै अब यो आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुने विश्वास समेत लिएको बताए।

'करिब १२ वर्षदेखि विभिन्न कारणले रोकिएको नेपालको ऊर्जा पूर्वाधारको मेरुदण्ड मानिने हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणको बाँकी प्रक्रिया नेपाल सरकारको मन्त्रिपरिषद बाट आवश्यक निर्णय भएसँगै अगाडि बढेको छ। अब यो आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुने विश्वास लिएका छौँ,' उनले भने, 'यो प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ, सन्तुलित र भरपर्दो हुनेछ। पूर्वमा उत्पादन हुने विद्युत् पश्चिमसम्म र पश्चिममा उत्पादन हुने विद्युत् पूर्वसम्म सहज रूपमा प्रवाह गर्न सकिनेछ। यो वास्तवमै नेपालको ऊर्जा राजमार्गका रूपमा स्थापित हुनेछ।'

यसले पटक–पटक हुने ट्रिपिङ तथा झ्याप्प–झ्याप्प बत्ती जाने समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री श्रेष्ठको विश्वास छ। 'आन्तरिक खपतपछि बाँकी रहने विद्युत् निर्यातको क्षमता पनि उल्लेखनीय रूपमा विस्तार हुनेछ। हाल करिब १,००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने अवस्थामा रहेको नेपालले यस प्रसारण प्रणाली पूर्ण सञ्चालनमा आएपछि २,५००–३,००० मेगावाटसम्म विद्युत् छिमेकी मुलुकहरूमा निर्यात गर्न सक्ने आधार तयार हुनेछ,' उनले भने, 'यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन, सम्पूर्ण राज्य संयन्त्र र साझेदारहरूको साझा प्रयासको परिणाम हो। यो केवल एउटा प्रसारण लाइन होइन, नेपालको ऊर्जा भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक फड्को हो।'

प्रकाशित: २५ असार २०८३ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App