१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्र रक्षाको ठेक्का कसैले लिनु पर्दैन, खतरा भए जनताले जोगाउँछन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र रक्षाको ठेक्का कुनै राजनीतिक दलले लिनु नपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि संकट आइपरे त्यसलाई जोगाउने तागत जनतासँग मात्र रहेको बताए।

महाधिवेशनको मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले दलहरूलाई लोकतन्त्रको नाममा अनावश्यक दुहाइ नदिन आग्रह गरे।

‘लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुस् कि यसको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्,’ लामिछानेले भने, ‘लोकतन्त्रलाई खतरा छैन, यदि खतरा भए जोगाउने जनता छन् र जनताले नै जोगाउँछन्।’

लोकतन्त्रको आडमा विधि र मूल्यमान्यता भत्काउने काम भए मात्र देश अप्ठ्यारोमा पर्ने चेतावनी उनले दिए। ‘लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्ने कुरा र मूल्यमान्यताहरू तोड्दै गयौं भने बल्ल देश र सरकार संकटमा पर्छ,’ उनले थपे।

लोकतन्त्रलाई निर्वाचनको स्वच्छ अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिने उल्लेख गर्दै उनले जनमत र संवैधानिक निकायमाथि अविश्वास नगर्न आग्रह गरे।

निर्वाचन परिणामलाई नस्वीकार्ने, सुरक्षा निकाय तथा नेपाली सेनाको निष्पक्षतामाथि प्रश्न उठाउने र विदेशी चलखेलको आरोप लगाउने प्रवृत्ति बन्द हुनुपर्ने उनको भनाइ थियो।

सडक आन्दोलन वा आँधीबेहरीको धम्की दिएर सरकार ढाल्ने बाटो त्याग्न सुझाव दिँदै लामिछानेले सरकार फेर्ने वैधानिक माध्यम आवधिक निर्वाचन मात्र भएको बताए।

बीपी कोइरालाका अनुयायीहरूलाई एकपटक नयाँ शक्तिलाई काम गर्ने मौका दिन आग्रह गर्दै उनले पाँच वर्षमा रास्वपाले परिणाम दिन नसके जनताले डाँडा कटाइदिने बाटो खुला रहेको समेत सुनाए।

प्रकाशित: १८ आश्विन २०८३ १८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App