२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नौ किलो सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा फेरि पक्राउ

पहिला किन छुटेका थिए उनी?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा दोस्रो पटक पक्राउ परेका छन्। २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएको सन्दर्भमा त्यो सुनलाई छाडिदिन आग्रह गरेको आरोपमा पूर्वसभामुख तथा माओवादीका पूर्वउपाध्यक्ष महरा दोस्रो पटक पक्राउ परेका हुन्।

पहिलो पटक उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नै कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनलाई सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको आरोप लगाइएको छ। आइतबार उनको पक्राउ विवरण सार्वजनिक गर्दै सिआइबीले आपराधिक समूहमार्फत सुन बिक्री–वितरण गरी आपराधिक लाभ लिएको उल्लेख गरेको छ। त्यसबेला विमानस्थल भन्सार कार्यालयले बरामद गरिराखेको अवस्थामा उक्त भेप गायब पारिएको थियो।

विमानस्थल सुन तस्करी प्रकरणमा चार वर्षदेखि अनुसन्धान जारी छ। महाराका छोरा राहुल महरा यही प्रकरणमा पक्राउ परेर अहिले धरौटीमा रिहा भएका छन्। सिआइबीले महरालाई थप अनुसन्धान लागि भन्दै आइतबार पुनः पक्राउ गरेको हो। यसअघि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महरासँग चार घण्टा बयान लिएको थियो । सिआइबीले पुरानो अनुसन्धानकै आधारमा महराविरुद्ध आपराधिक लाभको मुद्दा काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी गरेको छ।

चैतमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा २०८० असोजमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा २०८० चैत ५ गते पक्राउ गरेको थियो। रवि लामिछाने गृहमन्त्री भएर आउनेबित्तिकै महरालाई पक्राउ गरिएको थियो। अहिले पनि ओमप्रकाश अर्याल गृहमन्त्री भएको एक महिना नपुग्दै महरा नै निसानामा परे।

तत्कालीन समयमा सरकारी वकिल कार्यालयबाट छुटेका महरालाई यसपटक भने जिल्ला अदालत पठाउने बताइएको छ। सिआइबीमा आएका एआइजी मनोज केसीले निकै कमजोर फाइल खोलेका छन्। दुई पटक बयान दिइसकेको र उनको मुद्दा मात्रै लैजान बाँकी रहेको फाइल निकै कमजोर भएको सिआइबीकै एक अधिकृतको दाबी छ। ‘महरालाई पक्राउ गर्दा काम गरेको जस्तो मात्रै देखिने हो। उनीबाट लिनुपर्ने सूचना केही छैन, सुनका मूल मालिक फरार छन्। उनलाई त्यहाँसम्म पुर्‍याउने दाओजिन वाङ र ली हानसोङ भन्ने चिनियाँ नागरिक फरार छन्। महराले यसपटक नयाँ बयान दिए भने मात्रै, नत्र दुई पटकको बयानबाट केही खुलेको थिएन। यसले अनुसन्धान अधिकृतहरूमा अविश्वास मात्रै बढाउँछ,’ एक अधिकृतको दाबी छ।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र २०८० साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको डिल्ली आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको विषयमा पनि अनुसन्धान गरेको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा भेपभित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए। विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो। भन्सारका तत्कालीन नासु रेवन्त खड्काले भन्सार एजेन्टसँगको मिलेमतोमा सुन गायब पारेको अनुसन्धानबाट खुल्न आएको थियो। भेपमार्फत ल्याइएको तस्करीको सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख महरा र उनका छोरा राहुलसमेत जोडिएको भन्दै अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेलले सिआइबीलाई आफैंले उजुरी गरेका थिए।

त्यतिबेला अनुसन्धानका क्रममा महराका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक ली हानसोङसँग ११ पटक सम्पर्क भएको देखिएको थियो। सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए। त्यहीबेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको थियो। आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको सिआइबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ।

भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको कुरा पनि सिआइबीको अनुसन्धानमा खुलेको थियो। प्रतिवेदनअनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना रहेको खुलेको थियो।

त्यसक्रममा तत्कालीन भन्सार प्रमुख पोखरेलले महराका बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीलाई आग्रह गरेका थिए। उनले सुनसहितको भेप चोरीमा संलग्न भन्सारका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउन सिआइबीलाई निवेदन गरेका थिए। त्यसपछि मात्रै सुन तस्करीलाई छाड्न दबाब दिइएको खुलेको थियो।

सिआइबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ। सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ।

महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर भेप ल्याउने ली आफ्नो व्यापारिक साथी भएको र सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन आग्रह गरेका थिए। महरा बाबुछोराले लीले बुढीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजुदरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए।

सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो। राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी सके भेप छाडिदिन, नसके लिलामीमा राखिदिन भनेको बयान सिआइबीलाई दिएका थिए। उनले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको तर उनको धन्दा के थियो भन्नेबारे आफू जानकार नभएको बताएका थिए।

भेप प्रकरणमा चिनियाँ नागरिक दाओजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरा लगायतले सम्पर्कसूत्रको काम गरेका थिए। भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो। भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए। बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षागार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो।

उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो। उनले विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए। त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए। भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो।

महराबारे पोखरेलले के भनेका थिए?

म मिति २०७९–०५–२० गतेदेखि त्रिवि भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको पदमा कार्यरत रहिआएको छु। मिति २०७९–०९–१० गते फ्लाई दुबईको फ्लाई नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हाङसोङले दुईवटा सुटकेसमा ७३ वटा बट्टामा ल्याएका सात सय ३० थान इलेक्ट्रिक सिगरेट जफत भई मिति २०७९–१०–२९ गते मुद्दा तथा लिलाम शाखामा दाखिला भएको थियो।

उक्त इलेक्ट्रिक सिगरेट सो शाखामा दाखिला भएपछि नियमानुसार लिलाम वा नष्ट गर्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा विभिन्न व्यक्तिहरूले मालवस्तु लिलाम प्रक्रिया अगाडि बढाइदिई हामीलाई नै सकार गराइदिने वातावरण बनाइदिनू भनी मलगायत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद पौडेललाई समेत भनेका थिए।

सोही क्रममा कृष्णबहादुर महराले निजको मोबाइल नं. ९८५१२२४०५५ बाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ, के रहेछ हेरिदिनू, सहयोग गरिदिनू भनी बताएका थिए। निज राहुल महराले मोबाइल नं. ९८४१२९५४१३ मा एसएमएस गरी म राहुल महरा हो, भेटेर कुरा गर्नु छ भनी म्यासेज पठाएका थिए। मसँग पहिले चिनजान नभएको, आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले मेरो कार्यालयको कार्यकक्षमा आई भेटी सो इलेक्ट्रिक सिगरेट चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनू भनेका थिए।

निज राहुल महराले ६/७ पटक सोही विषयलाई लिएर कार्यालयमा दबाब दिएका थिए। एक दिन निज राहुल महरा तीन जनासहित सोही विषयमा कुरा गर्न आउँदा नाम थरसमेत थाहा नभएका अन्दाजी ५५ वर्षको मोटो शरीर भएको उचाइ ५.७ फिट भएको मंगोलियनजस्तो देखिने व्यक्तिले जफत भएको मालवस्तु रहेको सुटकेस हेर्न अनुरोध गरेका थिए।

सोपश्चात् निजलाई गोदाममा रहेको मालवस्तु किन हेर्नुपर्‍यो, तपाईंहरू पटकपटक किन यो कामका लागि आउनुभएको छ, सो सुटकेसमा कुनै शंकास्पद मालवस्तु रहेको छ कि, यसमा प्रहरीले समेत अनुसन्धान गर्ने कुरा रहेको छ कि भनी निजहरूको नियत बुझ्न भनिदिएको थिएँ। साथै यदि आयोजनाका लागि इलेक्ट्रिक सिगरेट चाहिने भए बजारमा अरू पनि इलेक्ट्रिक सिगरेट पाउन सकिने भन्दा निजले होइन, यो जफत भएको इलेक्ट्रिक सिगरेट नै चाहिन्छ भनी जवाफसमेत दिएका थिए। सोपश्चात् कुनै खास इलेक्ट्रिक सिगरेटका लागि उनीहरूको अत्यधिक चासो अस्वाभाविक लागेकाले सो मालवस्तुको सम्बन्धामा थप छानबिन गर्ने क्रममा गोदाममा रहेको इलेक्ट्रिक सिगरेट साटिएको अवस्थामा फेला पारी विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकाले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचारसमेत गरेको हुँ।

सिआइबीमा महराले के भनेका थिए?

मिति २०७९/०९/१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको सात सय ३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिवि भन्सार कार्यालयमा जफत भएको थियो। त्यसपश्चात् दाओजिन वाङले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्‍यो भनी मलाई भनेका थिए। मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो।

मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानुनबमोजिम मिल्ने भए सहयोग गरिदिनू भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन्। दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीका रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो।

पहिला किन छुटेका थिए उनी?

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २०८० चैत ४ गते पूर्वसभामुखसमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। त्यसपछि प्रहरीले २०८० चैत ५ गते महरालाई पक्राउ गरेको थियो।

लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले हत्तारिँदै पक्राउ गरेर सरकारी वकिल कार्यालयमा लगेर छाडेको थियो।

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि अदालतले महरालाई स्वास्थ्य स्थितिका कारण अस्पतालमा राख्न भनेको थियो। स्वास्थ्यका कारण, बयान लिइसकिएको अवस्था र उनको उमेरलाई समेत ध्यानमा राखेर महरालाई हाजिर जमानीमा छोड्न अनुमति दिइएको त्यतिबेला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताएका थिए। महरालाई उनको उमेर तथा क्षयरोग, युरिक एसिड र प्रोस्ट्रेट ग्रन्थीको समस्याबाट पीडित भएको भन्दै सरकारी वकिल कार्यालयले छाडेको थियो।

प्रकाशित: २७ आश्विन २०८२ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App