राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आइरहँदा केन्द्रीय सदस्य खुस्बु ओलीले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हालैका निर्णयहरूको बचाउ गरेकी छन्।
अध्यक्षले पार्टीको अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट बनेको पक्ष निर्वाचन आयोग पुगेको विषयलाई उनले ‘गलत’ र पार्टीलाई कमजोर बनाउने कार्यको संज्ञा दिएकी हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष लिङ्देनका निर्णयहरू पार्टीको विधानअनुसार नै स्वाभाविक भएको तर्क गरेकी हुन्।
उनले अनुशासन विभागका तत्कालीन संयोजक नवराज सुवेदीले राजावादी आन्दोलनको नेतृत्व गर्नासाथ राप्रपाको सबै पदबाट राजीनामा दिएको घोषणा गरेकाले उक्त पद स्वतः रिक्त भएको बताइन्।
‘योसँगै उहाँले सम्हालेको अनुशासन विभाग नेतृत्वविहीन हुन पुग्यो। त्यही रिक्त पदमा अध्यक्षले पार्टीको विधान अनुसार कार्कीलाई नियुक्त गर्नु भएको हो,’ उनले भनिन्।
उनले पार्टी विधानको दफा ४९ लाई उद्धृत गर्दै कुनै पनि रिक्त पदमा मनोनयन वा सहवरणमार्फत पूर्ति गर्ने अधिकार अध्यक्षलाई रहेको स्पष्ट पारिन्। ‘आफैँले राप्रपाको सबै पद त्यागेको घोषणा गरेको नेताले फेरि त्यही पद कसरी दाबी गर्न मिल्छ ?’ उनले प्रश्न गरेकी छन्।
प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरिएको विषयमा उनले त्यसलाई कारबाही नभई ‘जिम्मेवारी हेरफेर’ मात्र भएको बताइन्।
अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी मनोनित गरेको प्रवक्ता पदबाट मुक्त गर्नु कारबाही नभएको उनको जिकिर छ। ‘उहाँ (लावती) पार्टीमा नै हुनुहुन्छ। उहाँलाई कारबाही गरिएको होइन, पदमुक्त यानी कि जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले स्पष्ट पारिन्।
उनले पार्टीको निर्णयमा असहमति भए केन्द्रीय कार्यसमितिको बैठकमा कुरा राख्नुपर्नेमा सोझै निर्वाचन आयोग जानु अत्यन्तै गलत भएको टिप्पणी गरिन्।
‘अब भाद्रमा कार्यसमिति त बस्दै थियो, त्यो कुरालाई उहाँहरूले त्यहाँ राख्नुपर्नेमा आज निर्वाचन आयोग जानु अत्यन्तै गलत कुरा हो,’ उनले भनिन्।
उनले निर्वाचन आयोग पुग्ने पदाधिकारीहरू आफैँ संलग्न कार्यसम्पादन समितिले ‘राष्ट्रवादी विचार भएका अन्य दल वा अभियानमा संलग्न भए स्वतः पद नरहने’ निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णयमा किन ‘नोट अफ डिसेन्ट’ नलेखेको भनी प्रश्न गरिन्।
साथै, उनले पार्टीलाई कमजोर बनाउने र महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई काम गर्न नदिने कार्य स्वीकार्य नहुने बताइन्।
उनले भनिन्, ‘पार्टीभित्र कमजोरी होलान्, नेतृत्वसँग असहमति हुन सक्छन् तर त्यसलाई सम्बोधन गर्ने र समाधान गर्ने विधिहरू हुन्छन्। कुरा मान्छेको होइन, विधि, पद्धति र प्रणालीको हो।’
प्रकाशित: २९ असार २०८२ १९:०१ आइतबार





