९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

कर सेवा सहज बनाउन नयाँ करदाता पोर्टल परीक्षणमा

आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवामा सहजता, सरलता र प्रभावकारिता ल्याउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। 

विभागले भदौ ९ गतेदेखि नयाँ पोर्टल परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो। विभागका महानिर्देशक डा भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म हाल सञ्चालनमा रहेको पुरानो करदाता पोर्टलसमेत यथावत् सञ्चालनमा रहनेछ। 

‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ पद्धति तथा ‘माइक्रो सर्भिस आर्किटेक्चर’मा आधारित भएर नयाँ पोर्टल विकास गरिएको विभागले जनाएको छ। नयाँ प्रणालीमार्फत करदाताले विभिन्न करसम्बन्धी सेवा अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने व्यवस्था रहेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने सुविधा थपिएको छ। 

त्यस्तै, आय विवरण (डे–०४०) अन्तर्गत साविकमा अनुसूची–१० मा करदाताले आफैँ विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको छ। स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था पनि नयाँ पोर्टलमा समावेश गरिएको विभागले जनाएको छ। 

विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइनबाटै निवेदन दिन सक्ने सुविधा पनि नयाँ पोर्टलमा राखिएको छ। करदाताले आफ्नो प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र तथा करचुक्ता प्रमाणपत्र पोर्टलमा लगइन गरी आफैँ डाउनलोड गर्न सक्नेछन्। 

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) विवरण संशोधनसम्बन्धी सेवासमेत नयाँ पोर्टलमा समावेश गरिएको छ। पोर्टल परीक्षणकै क्रममा रहेकाले प्रयोगका क्रममा केही सामान्य प्राविधिक समस्या आउन सक्ने विभागले जनाएको छ। 

करदाताको सुविधालाई ध्यानमा राखी पोर्टलको डिजाइनलाई थप सरल बनाउने तथा आवश्यक नयाँ सुविधाहरू पहिचान गरी क्रमशः थप गर्दै जाने प्रतिबद्धता महानिर्देशक डा भुसालले व्यक्त गरेका छन्।

प्रकाशित: ९ भाद्र २०८३ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App