२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्तिहरू भुइँफुट्टा: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार राजधानीमा शक्ति प्रर्दशन गरेको छ। र्‍यालीपछि भृकुटीमण्डपमा आयोजित सभामा नेकपाका नेताहरूले पार्टी चुनावबाट नभाग्ने र चुनाव तोकिएको समयमा हुनुपर्ने बताएका छन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत मिलेर बनेको नेकपाले काठमाडमौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो। नेकपाले यसअघि देशका विभिन्न सातवटा सहरमा एकता सन्देश सभा गरिसकेको छ।

काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए। उनले सरकारलाई बारम्बार संविधान नमिच्न (केही हदसम्म मिचिएको अवस्था छ) पनि सरकारलाई चेतावनी दिए।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार सरकारको एक सय दिन पुगेको अवसरमा सन्देश जारी गर्दै चुनाव नै पहिलो प्राथमिकता रहेको बताएकी छन्। एमालेले अहिलेको सरकारले चुनाव गराउन नसक्ने भन्दै प्रतिनिधिसभा पुनस्र्थापानाको माग गरिरहेको छ। यही बेलामा नेकपाले काठमाडौंमा सभा गर्दै चुनावको पक्षमा अभिमत राखेको हो।

दाहालले सरकारलाई निर्वाचन सहज ढंगले गर्ने वातावरण मिलाउन आग्रह गरे। ‘हामीले भनेका छौं, सहज ढंले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन मिति सार्ने दुस्साहस नगर्नुहोला। तपाईंहरूले संविधान बारम्बार मिच्ने कोसिस (एकचोटि त मिचिसकेको छ केही हदसम्म) नगर्नुहोला। संविधान केही हदसम्म मिचिए पनि हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौं तर सरकारले फेरि निर्वाचन मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं’, दाहालले भने। उनले शान्तिपूर्ण ढंले निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए।

उनले नयाँ दलहरूतर्फ लक्षित गर्दै त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर त्यागको इतिहास भएका दलहरूलाई हेप्ने दुस्साहस गरेका भन्दै त्यसो नगर्न खबरदारी गरे। दाहालले आफ्नो पार्टी देशलाई संकटबाट बचाउने उद्देश्यका साथ जनयुद्ध र जनआन्दोलनको तागतलाई एकीकृत गरेर यहाँसम्म आएको समेत बताए।

उनले नेकपाको पक्षमा धनगढीदेखि लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौंसम्म देखिएको जनताको विशाल उपस्थितिलाई सामान्य नठान्नसमेत चेतावनी दिँदै भने, ‘यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ।’

दाहालले तोकिएको समयमा चुनाव नगराईकन यो सरकारको अवधि थपिए देश फेरि दुर्घटनामा पर्ने र नेकपा रमिते बनेर नबस्ने बताए। त्यस्तो अवस्था आए ७७ वटै जिल्ला र सबै पालिकाबाट विद्रोहको झण्डा बोकेर सडकमा आउने उनले बताए।

उनले आफूहरूको  शक्तिले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्रलाई धाराशयी पारेर गणतन्त्र स्थापना गरेको भन्दै यो तागतलाई खेलाँची नठान्न पनि चेतावनी दिए। दाहालले १६ वटा साना–ठुला वामपन्थी घटकको एकतापछि बनेको नेकपा देशको एक नम्बर शक्ति भएको दाबी गरे।

दाहालले वैकल्पिक राजनीतिक शक्तिका नाममा आएका नयाँ दलहरूलाई विचारविहीन, भुइँफुट्टा, स्टन्टबाज भएको आरोप लगाए। माधव नेपाल, झलनाथ खनालसहितका नेताहरूलाई मञ्चमा राखेर सम्बोधन गर्दै दाहालले सामाजिक सञ्जालको भरमा राजनीति गर्नेहरूले बलिदानको इतिहास बोकेको पार्टीलाई हेप्ने दुस्साहस गरेको टिप्पणी गरे। ‘केही भुइँफुट्टाहरू, जसको विचारको जग पनि छैन, त्यागको इतिहास पनि छैन, निष्ठा पनि छैन, तिनले बडो सजिलैसँग हामीलाई हेप्ने दुस्साहस गरेको देख्छु म। खबरदार! याद गर्नुहोला, हामी त्यो शक्ति हौं, जसले २५० वर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याएका हौंं’, उनले भने।

दाहालले नयाँ शक्ति (दल) र स्वतन्त्रहरूप्रति निकै आक्रामक अभिव्यक्ति दिए। उनले विचार र राजनीतिक अजेन्डाबिना केवल उमेर समूह (जेनजी) को नाम भजाएर र सोसियल मिडियामा ‘स्टन्ट’ गरेर भ्रम छरिएको आरोप लगाए। ‘कोही स्टन्टबाजको होहल्लाको पछि नलाग्नुस्, कसैले स्टन्टबाजी नगरे हुन्छ, न कुनै इतिहास छ, न सुविचारित विचार छ। सोसियल मिडियामा स्टन्ट गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोग जस्तै लागेको छ तर नेपाली कम्युनिस्ट पार्टी त्यस्तो स्टन्टबाजीबाट होइन, विचार र वर्ग संघर्षबाट आएको हो,’ दाहालले भने।

दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई आफूले लोकतन्त्रमा फुकेका फूल भनेको स्मरण गर्दै तर अहिले उनीहरू विस्तारै काँडा बन्दै गइरहेको टिप्पणी गरे। ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईं फूलहरू त विस्तारै काँडैकाँडा हुने हो कि भनेको जस्तो...। बुझ्नुस् इतिहास, आन्दोलन र सहिदको रगत,’ दाहालले भने।

सभामा पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन जनतासँग अपिल गरे। उनले जनताले विश्वास गरेर जिम्मेवारी दिएमा त्यो आफूहरूका लागि अर्को एउटा महत्त्वपूर्ण अग्निपरीक्षा हुने बताउँदै जनतालाई बहुमत प्रदान गर्न अपिल गरेका हुन्। ‘एक पटक हाम्रो पार्टीलाई मौका दिनुसु’, नेपालले भने।

पछिल्लो समय युवा पुस्ता अर्थात् जेनजीले अघि सारेका सुशासन र भ्रष्टाचार अन्त्यका नाराहरूलाई आफ्नो पार्टीले पूर्ण रूपमा साथ दिएको नेपालले बताए। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र नागरिक अधिकार कटौती गर्ने जस्ता निरंकुश कदमविरुद्ध आफूहरू सधैं लडिरहेको बताउँदै उनले जेनजी पुस्ताका हजारौं साथीहरू आफ्नो पार्टीमा आबद्ध भइरहेको दाबी गरे।

सुशासनको पक्षमा आवाज बुलन्द गर्दै सरकारलाई पटकपटक मागपत्र बुझाएको र जनताको माझमा गएर संघर्ष गरेको स्मरण उनले गरे। युवाको विश्वासलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै नेपालले विभिन्न कार्यक्रम मार्फत पार्टी प्रवेश गर्ने नयाँ पुस्तालाई बधाईं तथा धन्यवादसमेत दिए।

प्रकाशित: ६ पुस २०८२ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App