२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

‘नयाँ र कम्युनिष्टले सक्दैनन्, हामी नै बेस्ट पार्टी हौं’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक रूपान्तरण र समृद्धिको नेतृत्व गर्न सक्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको दाबी गरेका छन्।

उनले नयाँ भनिएका दलहरू र कम्युनिष्टहरूको राज्य-नियन्त्रित अर्थव्यवस्था असफल भइसकेको भन्दै बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी आर्थिक नीति नै देशका लागि उत्तम विकल्प भएको बताए।

जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो धारणा राखेका हुन्।

“नयाँ र कम्युनिष्टहरूले सक्दैनन्, हामी नै बेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ,” उनले भने, “एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढंगले राख्न सक्यौँ भने सफल हुन्छौँ।”

उनले बीपी कोइरालाले नागरिकलाई अधिकारसम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने सोच राखेको बताए।

“कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो,” प्रवक्ता महतले भने, “अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन। विभिन्न खाले असमानता चिर्न राज्यले लगानी गर्नुपर्छ भनेर लोकतान्त्रिक समाजवादको उदय भयो।”

उनले बीपीको आर्थिक नीतिका कारण २०४६ सालपछि देशको आर्थिक वृद्धिदर २ प्रतिशतबाट बढेर ६ प्रतिशतभन्दा माथि पुगेको स्मरण गराए।

प्रवक्ता महतले पार्टीभित्रै एक-अर्कालाई सिध्याउन सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै चर्को आलोचना गरे। “हामी एकले अर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने, आफूले गरेको कुरा भन्दै नभन्ने, बरु अरूका कुरा टिपेर आफ्नै मान्छेहरूलाई आक्रमण गर्ने यो प्रवृत्ति छाड्नुपर्छ,” उनले भने।

उनले कांग्रेसले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न नसकेको र पार्टीभित्रैबाट आलोचना हुने गरेको गुनासो गरे। उनले अबको समय सूचना प्रविधि, पर्यटन र उत्पादनमा आधारित अर्थव्यवस्थामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ८ श्रावण २०८२ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App