३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरूले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा सांसदहरूले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने, विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

बैठकमा सांसद सन्दीप रानाले किसानले रासायनिक मल नपाएर हाहाकार भोगिरहेको, रेबीज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र परेको, बालबालिका कुपोषणको सिकार बनेको तथा युवाहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै यी विषयमा सरकारको ध्यान जानुपर्ने बताए। 

सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसात् गर्नुपर्ने बताए। सांसद गोपाल शर्माले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। सांसद आरेन राईले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरे। 

सांसद खुश्बु ओलीले कीर्तिपुरस्थित जलन अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताए। सांसद राजकिशोर महतोले मुलुकलाई आत्मनिर्भर बनाउन हर्बल सामग्रीको बजारीकरणमा सरकारको ध्यान जानुपर्ने बताए। 

सांसद रिना उप्रेतीले सोमबार सञ्चारगृहको प्रवेशद्वारअगाडि गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्। 

सांसद विष्णुमाया विकले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताइन्। सांसद गणेशबहादुर विश्वकर्माले सरकारले सय दिनमा गरेका काम उल्लेखनीय भए पनि अझै जनअपेक्षाअनुसार काम गर्न बाँकी रहेको बताए। 

सांसद पुकार बमले बुढानिलकण्ठ क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाको नीति अपनाउन सरकारसँग आग्रह गरे। सांसद यशोदाकुमारी बरालले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट जनधनको क्षति भएकाले प्रभावितको उद्धार तथा राहत वितरणमा सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद कृष्णहरि बुढाथोकीले कुन सडक सञ्चालनमा छन्, कहाँ पहिरो गएको छ, कुन ठाउँका पुल तथा सडकखण्ड असुरक्षित छन् र कुन मार्गमा सवारी सञ्चालन गर्न उपयुक्त छ भन्नेबारे सरकारले समयमै सूचना दिने व्यवस्था मिलाउनुपर्ने बताए। सांसद खगेन्द्र सुनारले जातीय विभेद तथा हिंसाका घटनाप्रति सरकारको ध्यान जानुपर्ने बताए। 

त्यसैगरी सांसदहरू लिमा अधिकारी आचार्य, गणेश कार्की, समीक्षा बाँस्कोटा, गणेश पौड्याल, बशुमाया तामाङ, झविलाल डुम्रे, श्रीधर पोखरेल, सुशान्त वैदिक, हरिप्रसाद भुषाल, जनकसिंह धामी र यज्ञमणि न्यौपानेलगायतले पनि विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ३० असार २०८३ १६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App