१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगनले प्रस्ताव गरे मङ्सिर २७ मा विशेष महाधिवेशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गते हुने निर्वाचनमा टाउको ठाडो र छाती फराकिलो बनाएर जान नेपाली कांग्रेसले चुनावअघि नै पार्टीको स्वरूप बदल्नुपर्ने बताएका छन्।

शनिबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव समेत अघि सारेका हुन्।

महामन्त्री थापाले पार्टीको वैधानिकता जोगाउन र नयाँ ऊर्जाका साथ चुनावमा होमिन मङ्सिर २७ र २८ गते विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको जिकिर गरे।

‘हाम्रो समयावधि अब १५–२० दिनमा सकिन्छ, यो अवधि हामी थप्न सक्दैनौं। धेरै नेताहरूले यो समयमा गर्न सकिन्न भन्नुभएको छ,’ थापाले भने, ‘उहाँहरूले सकिन्न भनेको अवस्थामा मसँग अर्को विकल्प छैन। अब मङ्सिर २७ र २८ गते विशेष महाधिवेशन गर्नु नै सर्वोत्तम मात्र होइन, करिब–करिब निर्विकल्प बाटो हो।’

उनले विशेष महाधिवेशनबाट आउने नयाँ नेतृत्व र नयाँ संकल्पले मात्रै पार्टीलाई चुनावमा बलियोसँग उभ्याउन सक्ने दाबी गरे।

महामन्त्री थापाले कांग्रेसले सडकमा देखिएको ‘जेन-जी’ पुस्ताको आक्रोशलाई सम्बोधन गर्ने नीति लिएको समेत बताए। गत भदौ २३ र २४ गते युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध देखाएको भावलाई कांग्रेसले सम्मान गर्ने उनले बताए।

‘नेपालका नवजवानहरूले सुशासनका निम्ति र भ्रष्टाचारलाई जरैबाट सिध्याउन जुन भाव प्रकट गर्नुभएको छ, कांग्रेस त्यसलाई ग्रहण गर्छ र त्यसबाट सिक्न चाहन्छ,’ थापाले भने।

पछिल्लो समय देशमा निषेध र प्रतिशोधको राजनीति हाबी भएको भन्दै थापाले कांग्रेसले सबै दलसँग बहुपक्षीय संवाद गर्ने बताए। उनले निर्वाचनमा भाग लिन्न भन्ने दलहरूलाई पनि मूलधारमा ल्याउन कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाए।

थापाले निर्वाचनका लागि सरकारलाई सहयोग गर्ने तर शान्ति सुरक्षाको विषयमा खबरदारी पनि नछोड्ने बताए।

‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन्। दलहरूले निर्वाध गतिविधि गर्न पाएका छैनन्,’ थापाले भने, ‘सरकार जति गम्भीर हुनुपर्ने हो, नभएको महसुस भएको छ।’

फागुन २१ को निर्वाचनलाई नेपालको संवैधानिक जटिलताको निकासको रूपमा अर्थ्याउँदै थापाले विशेष महाधिवेशनको भारी बोकेर कांग्रेस चुनावमा जाने स्पष्ट पारे।

प्रकाशित: ६ मंसिर २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App