नेपाली कांग्रेसले भदौ २३ र २४ को घटना फेरि निप्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले भदौ २३ र २४ गतेको घटना निष्पक्ष र स्वतन्त्र ढंगले पुनः छानबिन गर्न आवश्यक रहेको जनाएको हो ।
अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले कार्की आयोगको मूल कार्यादेश भदौ २३ र २४ गतेका घटनाको तथ्यगत छानबिन गर्ने भनिए पनि प्रतिवेदनमा राजनीतिक तथा संरचनागत विषयमा प्रवेश गरिएको देखिएको ठहर गरेको छ ।
आयोगको कार्यक्षेत्र सीमित हुने भएकाले जाँचबुझ आयोग ऐन, २०२६ को मर्मसँग पूर्ण रूपमा मेल नखाएको पनि प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा भदौ २३ गतेका घटनामा बढी केन्द्रित भई २४ गतेको गम्भीर मानवीय तथा भौतिक क्षतिको पर्याप्त र सन्तुलित विश्लेषण हुन नसकेको समितिले जनाएको छ । यस्तै, प्रतिवेदन अपूर्ण रहेको पनि समितिको ठहर छ ।
आयोगले प्रस्तुत गरेका कतिपय निष्कर्ष तथ्यगत आधारमा महत्त्वपूर्ण भए पनि विश्लेषणको असन्तुलन, कार्यादेशभन्दा बाहिरको विस्तार तथा केही विषयमा अपूर्णता देखिएकाले प्रतिवेदनमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले घटनाका केही पक्ष उजागर गरे पनि पूर्ण, सन्तुलित र कानुनी रूपमा सीमित ढाँचामा प्रस्तुत हुन नसकेकाले सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने आवश्यकता समितिले देखाएको छ ।
प्रकाशित: ३ वैशाख २०८३ १७:३७ बिहीबार





