१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीको बैठक पेरिसडाँडामा, प्रदेशमा ‘एकता सन्देश’ कार्यक्रम गर्ने तयारी

नवगठित नेपाली कम्युनिष्ट पार्टीले आफ्ना भावी कार्यक्रमहरू तय गर्नका लागि छलफल अगाडि बढाएको छ। यसै क्रममा पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको एक अनौपचारिक बैठक जारी छ।

बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपाल लगायत अन्य शीर्ष नेताहरूको सहभागिता रहेको छ। साथै, बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ।

पार्टीलाई तल्लो तहसम्म सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले सातै प्रदेशमा ‘एकता सन्देश कार्यक्रम’ आयोजना गर्ने विषयमा बैठक केन्द्रित रहेको छ।

उक्त कार्यक्रमको स्थान र समय निर्धारण गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ। यो कार्यक्रममार्फत पार्टी एकताको सन्देश र आगामी कार्यदिशाबारे कार्यकर्तालाई जानकारी दिइनेछ।

हालै मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी दलहरू मिलेर नेपाली कम्युनिष्ट पार्टीको घोषणा भएको थियो। एकता घोषणापछि पार्टीले आफ्ना सांगठनिक संरचनालाई पूर्णता दिने र राजनीतिक कार्यक्रमहरूलाई गति दिने तयारी थालेको हो।

प्रकाशित: ३० कार्तिक २०८२ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App