२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सधैंको चुनावी मुद्दा

बन्नुअघि बनाउने र अहिले चलाउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको तीनवर्ष नाघेको छ। आन्तरिक उडानको आकारको हिसाबले विमानस्थल व्यस्त पनि छ। तर, नियमित अन्तर्राष्ट्रिय उडानले भने अझै गति लिन सकेको छैन। संचालनमा आएको यो अवधिमा केही अन्तर्राष्ट्रिय उडान भएपनि ती नियमित हुन सकेका छैनन्।  

भू–राजनीति र भ्रष्टाचारको चंगुलमा फँसेको यो विमानस्थल निर्वाचनमा होमिने दलका लागि भने सधैंको मत माग्ने अस्त्र बन्ने गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमास्थल बन्नुअघि विमानस्थल बनाउन पहल गर्ने भनेर दलहरुले मतदातासँग मत मागेका थिए भने अहिले संचालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल गर्ने भनेर मतदाता रिझाउने प्रयास गरिरहेका छन। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको मुद्दालाई अहिले चुनावी नारामा प्रयोग गर्ने गरिएको छ।

पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेशको मुहार फेर्नका लागि बलियो खम्बाको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ब्याख्या गर्दै आइएको थियो। तर, नियमित उडान हुन नसकेपछि समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र सबैभन्दा बढी चिन्तित छ। तर, दलहरुले भने चुनावी नारामा विमानस्थललाई समेट्न छाडेका छैनन। व्यावसायी भन्छन, ‘जुन कुरालाई उठाउँदा मतदाता लोभ्याउन सकिन्छ, त्यही मुद्दा दलहरुले समेट्ने प्रयास गर्दा पोखरा अन्तर्राष्ट्रिय विमास्थल सधैंको नारा बन्न पुगेको हो।’

अहिले चुनावमा होमिएका दलहरु नै यसअघि आलोपालो सरकारमा रहेको बेला विमानस्थलबाट हुने अन्तर्राट्रिय उडानका लागि पहल गर्न सकिने भएपनि त्यो बेला खासै चाँसो नदेखाएको पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा बताउँछन। ‘आफ्नो दल सरकारमा हुँदा पनि यिनै दलले विमानस्थलप्रति उत्तिसारो चाँसो देखाएको देखाएनन्। औपचारिकता निभाउने प्रयास मात्र गरिन्थ्यो। तर, अहिले फेरि चुनावी नारामा समेट्न यिनै दलले छाडेका छैनन,’ थापाले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सधैंका चुनाव र सबैंका राजनीतिक दलका मुद्दा बन्ने गरेको छ।’

कुनै न कुनै रुपमा पर्यटन क्षेत्रलाई पनि सम्बोधन गरौं न भन्ने भएकोले मात्र दलहरुले विमानस्थलबारे आश्वासन दिएको हुनसक्ने उनले बताए। 

‘अन्तर्राष्ट्रिय उडान संचालनका लागि साच्चै पहल गर्ने हो भने कुनै पनि दलले चुनाव कुर्नुपर्दैन। चुनाव नभएको बेलामा पनि समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘आखिर सरकार त यिनै दलले आलोपालो चलाएका थिए। त्यो बेला पर्याप्त प्रयास गरेको भए अहिले मुद्दा बनाउनै पर्दैन। तरपनि राजनीति स्टन्टका लागि विमानस्थललाई सधैंका नारामा समेट्ने गरिएको छ।’  

पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका अर्का व्यावसायी बासु त्रिपाठी पनि पोखरा अन्तर्राष्ट्रिय विमास्थललाई चुनावी नाराले कहिल्यै नछाडेको बताउँछन। ‘पर्यटनको महत्व गहिराईमा गएर नबुझेकोले पनि यो अवस्था आएको हो। पोखरा अन्तर्राष्ट्रिय विमास्थलबारे मौसमी कुरा मात्र गरिएको छ,’ त्रिपाठी भन्छन, ‘विमानस्थल नबनाउन्जेल बनाउँछौ भनेर आवाज उठाएका थिए। तर, अहिले चलाउँछौ भनेर भन्ने गरेका छन्। कुनैपनि दलले विमानस्थल चलाउँछौं भनेर घोषणापत्रमा समेट्न जरुरी छैन। किनकी विमानस्थल चलेको पनि छ। मात्र अन्तर्राष्ट्रिय उडानको आकार बढ्न नसकेको हो।’

बनिसकेको विमानस्थल संचालन गर्नका लागि चुनावी एजेन्डा बनाउनुपर्ने कुरा नेपालको विकासको गति कति अन्योलग्रस्त छ भन्ने देखाउने त्रिपाठी बताउँछन। ‘काम गराउन कुनैपनि राजनीतिक दल सिरियस छैनन, तर, गरेको कामको जस लिन जो पनि अघि सर्छन,’ उनले भने, ‘गण्डकी प्रदेशका दलका नेतृत्वले यो बारेमा नबुझेका होइनन। पोखरा अन्तर्राष्ट्रिय विमास्थलको बारेमा नसुनेका कोही पनि छैनन।’ उनका अनुसार विकासको मोडल अनुसार लक्ष्य पहिल्याउन अघि सर्नुपर्नेमा त्यसमा कार्यविधि तय हुन नसक्दा यो समस्या भएको हो।

‘भू–राजनीतिलाई दोष दिएर अहिले जो कोही पन्छिने गरेका छन। त्यो भू–राजनीति मिलाउने सरकारले नै हो, व्यावसायीले होईन,’ उनले भने, ‘त्यसको पहल दलले नै गर्नुपर्छ। विमानस्थल भू–राजनीतिका कारण पछाडि परेको होईन। तर यसमा दलहरुको चाँसो हुनुपर्छ। चुनावी चाँसोले मात्र काम गर्दैन।’ 

विमानस्थलबारे दलका नेताहरुले बेलाबेलामा मञ्चमा बोल्ने गरेको भएपनि व्यवहारमा दवाव नदिएको उनले बताए। ‘दलको केन्द्रीय पहुँचमा यहाँका नेता नभएका पनि होईनन, तर, उनीहरुले चाँसो र दवाव नदिएकैले यो अवस्था सिर्जना भएको हो,’ उनले भने।

संचालनमा आइसकेको विमानस्थलबारे घोषणापत्रमा लेखेर जान जरुरी नभएको त्रिपाठीको भनाई छ। ‘गण्डकी प्रदेशका सबै दलले यसलाई देखेका छन। घोषणापत्रमा लेखेको भरमा साच्चै काम गर्ने हो भने जितेर गएको भोलिपल्ट देखि लाग्नुपर्ने हो। तर, त्यस्तो देखिएको छैन। जुनसुकै दलले यसलाई अघि बढाउन सक्थे, तर वास्ता गर्दैनन,’ उनले भने, ‘व्यवासायीको मात्र वास्ताले काम गर्दैन।’ उनका अनुसार सरकारले सम्बन्धित ढोकामा ढक्ढक्याउन चुकेकाले यो समस्या आएको हो। ‘अब पनि विमानस्थल चलाउन सकिएन भनेर भन्दा लाज लाग्नु विषय हो,’ उनले भने।  

निर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारहरुले नयाँनयाँ आश्वासन दिलाउँदै मतदाता फकाउने प्रयास गर्छन। त्यही क्रममा कतिपय एजेन्डा निरन्तर उठाउने गरिएको छ। राजनीतिक विश्लेषकहरु भने दलका उम्मेदवारसँग यस्ता आश्वासनको कुनै आधार नहुने बताउँछन। राजनीतिक विश्लेषक सुरेन्द्र थापा भन्छन, ‘सांसद विधायक बन्नुभन्दा पनि ठेकेदार बनेकोले विकासका कुरा उठाएका हुन । बास्तवमा दलहरुले यस्ता आकर्षक नारा देखाउन जरुरी छैन। मिथ्या आश्वासनमा रमाउने प्रवृद्धि बढेकोले यो अवस्था आएको हो।’

कुनैपनि दलका उम्मेदवारले म यस्तो नीति बनाउँछु भन्नुपर्नेमा विकासका काम गर्छु भन्नु गलत रहेको उनले बताए। ‘हामी गलत बाटोमा गएका छौ। हाम्रो ट्रेन्ड नै यस्तै भयो। नीति कानुन बनाउँछु भन्नुपर्नेमा आश्वास बाँडेका छौ,’ उनले भने, ‘बारम्बारका चुनावी नारा एउटै विषयमा घुमिरहेका छन। मात्र स्वरुप फेरिएको हो। विषय पहिलेकै हुन। यो जरुरी छैन।’  

प्रकाशित: १९ फाल्गुन २०८२ १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App