नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १० वाम घटकको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’को एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिन्ह, विधान, घोषणापत्रसहितका विभिन्न नौ बुँदे प्रस्ताव पारित गरेको हो।
सम्मेलनमा अहिले नेताहरूले बोल्ने क्रम चलिरहेको छ।
यस्ता छन्, पारित नौ बुँदा
१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ हुनेछ।
२. पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ हुनेछ।
३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्।
४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गरिनेछ।
५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिइनेछ।
६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि कायम हुनेछन्।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको स्वामित्वमा रहनेछ।
८. नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।
९. नेपाली कम्युनिस्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।
प्रकाशित: १९ कार्तिक २०८२ १६:३७ बुधबार





