१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वको सरकारलाई नेकपाको समर्थन कायमै रहन्छ : नेता भट्टराई

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको समर्थन यहीँ सरकारलाई कायम रहने बताएका छन्।

नेकपा संसदीय दलका नेता युवराज भट्टराईले आफ्नो दल सरकार परिवर्तन गरिने पक्षमा नरहेको जानकारी दिए। 'हामी अहिले सरकार ढाल्ने पक्षमा छैनौं। यो सरकारको कमजोरी होला त्यो विषयमा हाम्रो विमतिहरू छन्। तर जतिबेला सरकार बनाउने खसाउने खेलमा हामी लाग्दैनौं,' उनले भने, 'त्यसमा अझ बजेट ल्याउनेबेला त्यो गतिविधि गरिने पक्षमा हाम्रो दल छैन पार्टीको त्यस्तो कुनै निर्देशन पनि आएको छैन।'

जनमत पार्टीले सोमबार नै नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वका सरकारबाट समर्थ फिर्ता लिइने निर्णय गरिसकेका छन्।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता चन्दन सिंहले प्रदेशमा सहभागी जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहालाई फिर्ता समेत बोलाइएको छन्। यद्यपि जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले आफ्नो समर्थन कायमै रहेको बताएका छन्। उनले आजै प्रदेश प्रमुख समक्ष आफ्नो समर्थन कायमै रहेको जानकारी गराउने तयारी गरेका छन्।

जनमत पार्टीका दुई नेताको फरकफरक निर्णयले अन्योल बढाइएको छ। यसअघि पनि मधेसमा सरकार गठनका बेला जनमत पार्टीका तत्कालीन नेता तथा पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र संसदीय दलका नेता महेश यादवम फरकफरक निर्णय गरेका थिए।

जनता समाजवादी पार्टी नेपालले पनि यो सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता  बोलाएर समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन्।

दुई मधेसवादी दल समर्थन फिर्ता लिए नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने तयारी भइरहेको छ।

गएको मंसिर १९ गते जनमत, जसपा, नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

प्रकाशित: २२ वैशाख २०८३ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App